तेह्रथुम : माथिल्लो खोरुंगा खोला जलविद्युत आयोजनामा काम गर्ने एक कामदारको शुक्रबार लडेर मृत्यु भएको छ । आयोजनामा कार्यरत कन्चनपुरको लालझोडा गाउँपालिका–६ का ४० वर्षीय रामबहादुर चौधरीको मृत्यु भएको हो ।
शुक्रबार विहान आयोजनाको पावर हाउस नजिकै करिब ३५ मिटर अग्लो कान्लाबाट खसेपछि घाइते भएका चौधरीलाई उपचारकालागि जिल्ला अस्पताल ल्याइएको थियो । तर उपचार सम्भव नभएपछि उनलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ रेफर गरिएको थियो ।
उपचारकालागि लैजाँदै गर्दा दिउँसो करिब साढे दुई बजे बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । माथिल्लो खोरुंगा खोला जलविद्युत् आयोजनामा निर्माण कम्पनी धौलागिरी कन्स्ट्रक्सन, खड्का कृष्ण जेभीमा चौधरीसहित करिब सय जना कामदार कार्यरत छन् । कन्चनपुरका मात्रै करिब ३० जना कामदार रहेका छन् ।