पाँचथर: पाँचथरको हिलिहाङ गाउँपालिकाका एक शिक्षक छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका छन् ।

सप्तरीको शम्भुनाथ गाउँपालिका घर भएका शिक्षकमाथि १३ वर्षीया छात्रालाई ललाइफकाइ यौन दुर्व्यवहार गरेको आरोप छ । ती छात्रा कक्षा ८ मा अध्ययनरत हुन् । शिक्षक उपेन्द्र चौधरीलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । विज्ञान बिषयका शिक्षक चौधरीले बालिका घरमा एक्लै भएको बेला जबर्जस्ती गर्न खोजेको पीडितको आरोप छ ।

प्रहरीका अनुसार परीक्षामा प्रथम बनाइदिने भन्दै शिक्षकले प्रलोभन दिएको आरोप पीडितका आफन्तजनले लगाएका छन् । प्रहरीमा उजुरी परेपछि शिक्षक चौधरीलाई मंगलबार नै नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।