धरान : प्रहरीले ब्राउनसुगरको कारोबार गर्दै आएका भोजपुरको ७ जनाको समूहलाई ३ ग्राम ४७० मिलिग्राम ब्राउन सुगर, गाँजा १८ ग्राम, नगद ७० हजार रुपैयाँ सहित आइतबार पक्राउ गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार लागु औषधको कारोबार भइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले भोजपुर-७ स्थित २४ वर्षीय सञ्जय राईको कोठामा छापा मारेको थियो । घर कोठाको खानतलासीबाट उक्त परिमाणको लागु औषध, नगद बरामद गरी ७ जनालाई पक्राउ गरिएको हो ।
पक्राउ गरिएकाहरूमा सञ्जय समेत भोजपुर–७ का १९ वर्षीय मौसम राई, भोजपुर-९ का २० वर्षीय रेन्जि शेर्पा, भोजपुर-५ का २० वर्षीय सङ्गीत राई, भोजपुर–७ का २० वर्षीय युकेश राई, १९ वर्षीय उचित राई, भोजपुर-६ का २९ वर्षीय दीपेश राई छन् ।  
झापाको बुद्धशान्ती गापा–३ का ३३ वर्षीय उत्तम कार्कीलाई ३ ग्राम १५० मिलिग्राम ब्राउन सुगर सहित  इलाका प्रहरी कार्यालय बुधबारेको प्रहरी टोलीले पक्राउ गरेको छ ।
रुपन्देहीको बुटवल–३ की २५ बर्षीया निर्मला थापालाई अस्थायी प्रहरी पोस्ट बसपार्क झापाले ५२० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।    
यसै गरी धरान–१२ का २९ वर्षीय वसन्त तामाङ २८८ मिलिग्राम ब्राउन सुगर सहित विराटनगरमा पक्राउ परेका छन् । साथै सुन्दरहरैचा–३ का २० वर्षीय दिवस तामाङ १ ग्राम ७१ मिलिग्राम ब्राउन सुगर सहित समातिएका छन् ।
उनीहरू दुवैलाई लागू औषध नियन्त्रण ब्युरोले विराटनगर–१५ र १६ बाट ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । 
वराहक्षेत्र–७ सोमबारेबाट २५ वर्षीय धिरज राईलाई २ ग्राम ३५० मिलिग्राम ब्राउन सुगर सहित इलाका प्रहरी कार्यालय महेन्द्रनगरले पक्राउ गरेको छ ।