धरान : नेकपा माओवादी केन्द्रीय सदस्य पूर्व मन्त्री सुदन किराँतीले भिजिट भिषा काण्डमा मुछिएकाले गृहमन्त्री रमेश लेखकले नैतिकताको आधारमा पदबाट राजीनामा दिनु पर्ने बताएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिषा दिँदा घुस लिने कुरा मानव तस्करीजन्य अपराध भएकोले गृहमन्त्रीले नैतिकता देखाएर पदबाट राजीनामा दिनुपर्ने बताएका हुन । 
धरानमा आज आईतबार प्रेस सेन्टर सुनसरीद्वारा आयोजित कृष्ण सेन इच्छुक स्मृति दिवसका प्रमुख अतिथि पूर्व पर्यटन मन्त्री किराँतीले गृहमन्त्री लेखकको राजीनामा माग गर्दै आज पनि सदन अवरुद्ध भएको बताए । 
उनले भने ‘गृहमन्त्रीले स्वतन्त्र छानबिनका लागि मार्ग प्रशस्त गर्न राजीनामा गर्नु पर्छ ।’ गृहमन्त्री लेखकले नैतिकता प्रदर्शन गरेर उच्च स्तरीय छानबिन समिति बनाउन बाटो खुला आग्रह गरे । नेता किराँतीले भने ‘यसबाटै काँग्रेस पार्टी र जनता, देश र राजनीतिको भलो हुन्छ ।’
राजनीतिमा लोभी पापीको सख्या बढेकाले राजनीति लाजनिती भएको बताउँदै उनले राजनीतिमा व्यक्तिगत स्वार्थ हाबी भएकोले लाजमर्दो भएको बताए । किराँतीले भने ‘राजनीतिमा व्यक्तिगत स्वार्थ र लोभी पापीकै कारण पार्टी फुटाउँदै लुटने काम भइरहेको छ ।’
राजनीतिमा व्याप्त यस्तो भ्रष्ट प्रवृत्ति विरुद्ध कृष्ण सेन इच्छुक जस्ता पत्रकारको सपना साकार बनाउन जरुरी भएको बताए । उनले भने ‘देशमा विभिन्न तत्त्वहरू सलबलाउँदै गणतन्त्रको समेत विरोध गर्न थलेका छन् ।’
पत्रकार/ साहित्यकार इच्छुक जस्ता महान् शहीदको बलिदानबाट प्राप्त गणतन्त्र विरुद्ध सडकमा नाराहरू लाग्नु गणतन्त्रवादीहरूको लागि लज्जास्पद विषय भएको उनले बताए । उनले भने गणतन्त्रमा नेताहरू जति भ्रष्ट भए त्यो क्षमायोग्य नभएको उनले बताए ।
नेता किराँतीले भने ‘हामी गणतन्त्रवादीहरूले देखिने गरी जनताले अनुभूति गर्ने गरी नेता सुध्रिनुको विकल्प छैन ।’ 
कार्यक्रममा वरिष्ठ पत्रकार हर्ष सुब्बाले पत्रकार स्थायी प्रतिपक्ष भएको बताएको बताए । पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष केशव घिमिरे कृष्ण सेन इच्छुक नेपाली साहित्य र पत्रकारिताका  उज्ज्वल नक्षत्र रहेको बताए । 
प्रगतिशील साहित्यकार एवं क्रान्तिकारी पत्रकार इच्छुकको सशस्त्र जनयुद्धका क्रममा सैनिक हिरासतमा चरम यातना दिएर हत्या गरिएको थियो । उनी ‘जनदिशा’ दैनिकको प्रधान सम्पादक थिए ।
प्रेस सेन्टरका उपमहासचिव राजन केडीले इच्छुकको जीवनी संक्षेपमा बताए । सभापतित्व प्रेस सेन्टर सुनसरीका अध्यक्ष तीर्थ कार्कीले गरेका थिए ।
sudan-kirati1