धरान: नेपालमै पहिलो पटक धरानमा भएको व्यवसायीक बक्सिङ खेलको आयोजक धरान बक्सिङलाई करिब २ लाख रुपया घाटा व्यहोर्नु परेको छ ।

घाटा भए पनि खेललाई आगामी वर्ष पनि निरन्तरता दिइने आयोजक धरान बक्सिङका अध्यक्ष दीपक राईले प्रतिबद्धता जनाएका छन् । महिला पुरुष धरान फाईट नाइट–२०२५ को आयव्यय विवरण सार्वजनिक गर्न सोमवार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता आयोजनमा घाटा भएको जानकारी दिइएको हो ।

धरान बक्सिङद्वारा आयोजित राष्ट्रिय आइबीए प्रो र एमेच्योर बक्सिङ खेल गत: वैशाख १२ गते धरान–१५ चुम्लुङ हिममा सञ्चालन भएको थियो ।

पत्रकार सम्मेलनमा अध्यक्ष राईले प्रतियोगितामा कुल १३ लाख ३१ हजार ७ सय २९ रुपैयाँ खर्च भएको बताए । उनका अनुसार खेलको टिकट विक्रीबाट भएको आम्दानी १ लाख ६८ हजार रुपैयाँ सहित कुल आय ११ लाख ३२ हजार ४ सय ७० रुपैयाँ भएको छ ।

पत्रकार सम्मेलनमा जारी विज्ञप्तीमा प्रतियोगीताका लागि प्रायोजन तथा आर्थिक सहयोग दाताहरूमा धरान उपमहानगरपालिका, वडा कार्यलयहरु, धरान हङकङ मञ्च, होटेल मेरिकन नेपाल यूथ अर्गनाइजेशन युके लगायत रहेको उल्लेख छ ।

घाटा बेहोर्नका लागि केही वडा कार्यालयहरूले सहयोग गर्ने बचन दिएको पत्रकार सम्मेलनमा अध्यक्ष राईले बताए । आर्थिक रूपमा केही घाटा भए पनि नेपालमा व्यवसायीक बक्सिङ खेलको सफल आयोजन भएकोमा धरान बक्सिङ उत्साहित रहेको उनको भनाई थियो ।

उनले भने ‘हामीले नाफा घाटालाई भन्दा व्यावसायिक बक्सिङलाई निरन्तरता दिने अठोट गर्दै आगामी धरान फाईट नाइट–२०२६ को तयारीमा जुटेका छौँ ।’ नेपालमा पहिलो पटक आयोजित प्रतियोगितामा एमेच्योर तर्फ ५ र प्रोफेसनल तर्फ ४ खेल समावेश थिए ।

धरान सहित झापा, धनकुटा, काठमाडौँ, ललितपुर, उदयपुर र त्रिभुवन आर्मी क्लबका खेलाडीहरू बिच रोचक भिडन्त भएको थियो । एमेच्योर विधामा दिव्या चेम्जोङ लिम्बु, सभ्रान्त लिम्बु, नवाहाङ राई, मनिष पराजुली र निकेश गुरुङ विजयी बनेका थिए । प्रोफेसनल विधामा फुङलाङ काम्बाङ, सिंहवीर लिम्बु, सुलभ माली र सम्राट् महर्जनले उपाधि हात पारे ।

प्रो विजेताहरूले जनही ३५ हजार र उपविजेताले २५ हजार पाए भने एमेच्योर विजेतालाई ६ हजार र उपविजेता लाई ३ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।