इटहरी : इटहरीको जनता बहुमुखी क्याम्पसका विद्यार्थीले मोबाइल एप्लीकेसन तयार गरिरहेका छन् ।
बिआइसिटीइ सङ्कायमा अध्ययनरत विद्यार्थीले एप्लीकेसन तयार पर्ने भएका हुन् । क्याम्पसले सूचना प्रविधि शिक्षालाई व्यवहारिक अभ्याससँग जोड्ने उद्देश्यले जेठ १८ गतेदेखि एप डेभलप कार्यशाला आयोजना गरेको हो । 
७ दिनसम्म चल्ने उक्त कार्यशालामा गुगलले मोबाइल एप विकास गर्न प्रयोग गर्ने फ्रेम वर्क ‘फ्लटर’ कार्यशालाले विद्यार्थीलाई प्राविधिक सिप प्रदान गर्ने विश्वास लिइएको छ ।
फ्लटर मार्फत एन्ड्रोइड र आइओएस् दुवै प्लेटफर्मका लागि एप विकास गर्न सकिन्छ । तीनबर्ष अगाडी देखि सुरु भएको बिआइसिटीइमा विद्यार्थीको आकर्षण बढिरहेको छ ।
सूचना प्रविधिको विकाससँगै क्याम्पसले कोर्स तथा पठनपाठनका विषयमा पनि रूपान्तरण गरिरहेको छ । पाठ्यक्रम बाहेकका अन्य विषयवस्तु  प्रशिक्षण मार्फत विद्यार्थीलाई प्रतिस्पर्धात्मक बनाउन खोजिएको बिआइसीटीइ सङ्कायका प्रमुख मन्दिप भट्टराई बताउँछन् । 
उनका अनुसार कार्यशालामा फ्लटर, डर्ट, युआइ डिजाइन लगायत एप डेभलप सम्बन्धी आधारभूत सिप सिकाउने भएको छ ।
आगामी दिनमा एआई सँग सम्बन्धित विषयमा प्रशिक्षण प्रदान गर्ने बताउँदै भट्टराईले सूचना प्रविधिलाई नवप्रवर्तन मार्फत उद्यमशीलतामा जोड दिन लागिएको बताए । क्याम्पसका प्राध्यापक निरोज पौडेल प्रशिक्षक रहेको कार्यशाला सिपमा नै केन्द्रित भएको छ ।