धरान : नेपालको राजनीति र नेपाली साहित्यको प्रसङ्गमा अभिन्न उदाहरण वीपी कोइरालाका बारेमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँलाको रोचक संस्मरण हालै एक अन्तरवार्तामा प्रकाशित भएको छ ।

नेपाली साहित्यका आयामेली कवि पछिल्लो समय मुन्धुमका ‘सन्दर्भ’ बनेका वैरागी काइँलाको संस्मरणले वीपीले राजनीति र साहित्यका बारेमा प्रकट गरेका विचारलाई अध्ययन गर्न सघाउ पुर्‍याउन सक्छ । 

वीपीको राजनीतिका बारेमा ९ वर्षे स्कुले ठिटो हुँदा किम्बदन्ती जस्तै सुनेको बताउँदै ‘वीपी कोइराला भन्ने एक जना च्यास्से बाहुन छ रे, अहिले यहाँ भरे कहाँ देखिन्छ रे, राणाजीहरूलाई दिक्क बनायो रे ।’ काइँलाले त्यति बेला पहिलो पटक वीपीको नाम सुन्दा बुढापाकाबाट सुनिएका कुरा बताएका छन् ।

वीपीको प्रभावले त्यति बेला ‘हाम्रो गाउँ र छिमेक गाउँका धेरै लिम्बु दाजुभाइहरू मुक्ति सेनामा भर्ना भई प्रजातन्त्र ल्याउनका लागि एकतन्त्रीय राणा जहानियाँ शासन विरुद्ध युद्धका लागि तम्तयार भएको काइँलाले उल्लेख गरेका छन् । 

पूर्व कुलपति वैरागी काइँलाको सम्मानमा हालै प्रकाशित ‘बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ’मा स्वप्निल स्मृतिले लिएको अन्तर्वार्तामा उनले पिता खड्गबहादुर नेम्वाङ त्यस बेलाका आमाली सुब्बा, समाजसेवी भएकाले वीपी उनको सम्पर्कमा पुगेको बताएका छन् । 

वीपी र बन्दुक 

वीपीले बुबासँग सम्पर्क बढेपछि सशस्त्र क्रान्तिका नेपाली काँग्रेसद्वारा गठिन मुक्ति सेनाका लागि बन्दुक सङ्कलन गर्ने कार्य गरेका थिए । काइँलाले भनेका छन् ‘मेरा बाबु बन्दुकका सौखिन हुनाले सिकार गर्नकै लागि पनि विभिन्न प्रकारका बन्दुक किनेर राख्दथे ।’

उनका अनुसार त्यस बेला दोस्रो विश्वयुद्ध लडेर फर्केका पल्टनेहरूबाट उनीहरूले ल्याएका हतियारहरू किनेका थिए । काइँलाले बन्दुक/हतियारको सङ्ख्या उल्लेख गरेका छैनन् । बुबासँग भएका बन्दुकहरू वीपी कोइरालालाई दिएको उल्लेख गर्दै काइँलाले भनेका छन् ‘यिनै बन्दुकहरू मेरा बाबुले पछि मुक्तिसंग्राम लड्नका लागि नेपाली काँग्रेसको मुक्ति सेनालाई दिएका थिए ।’

वीपी कोइराला सशस्त्र क्रान्तिका लागि बन्दुक सङ्कलन गर्ने कार्यमा स्वयं खटेका थिए भन्ने वैरागी काइँलाका पिता खड्गबहादुर नेम्वाङबाट पूर्वी पहाडका भूपू सैनिकहरूसँग भएका बन्दुक प्राप्त गरेको कुराले पुष्टि गर्दछ । 

वीपी बन्दुकको संवेदनशीलता र व्यवस्थापनमा पनि गम्भीर थिए । वैरागी काइँलाले क्रान्ति पछि वीपी कोइराला आफै आएर बुवालाई बन्दुकहरू फिर्ता बुझाएको बताएका छन् । 

अन्तरवार्तामा काइँलाले भनेका छन् ‘यी हतियारहरूका लागि २००८ सालमा गृहमन्त्रीका हैसियतमा वीपी कोइराला इलाम आएका बेला सत्रथुमका गन्यमान्य सुब्बाहरूसँग भेटघाट गरेका थिए । सोही अवसरमा वीपी कोइरालाले धन्यवाद दिदैं बन्दुकहरू मेरा पिताजीलाई फिर्ता गरिदिएका थिए ।’

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको राजनीतिक सङ्घर्षको इतिहासमा दोस्रो पटक २०३० सालमा पनि बन्दुकसँग जोडिएको छ । राजा महेन्द्रले प्रजातन्त्र समाप्त गरी लागु गरेको पञ्चायती राजतन्त्र विरुद्ध निर्वासनबाट सङ्घर्षमा लागेका वीपीको सहमतिमा २०३० साल जेठ २८ गते नेपालमा पहिलो पटक विमान अपहरण भएको थियो ।

विराटनगर एयरपोर्टबाट ट्विनअटर विमानमा नेपाल राष्ट्र बैङ्क विराटनगरबाट ३० लाख रुपैयाँ भारु काठमाडौँ लैजादैं थियो । सशस्त्र सङ्घर्षका लागि हातहतियार खरिद गर्न अपहरित विमानको रकम वीपीले दार्जिलिङमा बुझिलीएको विमान अपहरण संलग्न दुर्गा सुवेदीले आफ्नो संस्मरणमा उल्लेख गरेका छन् । विमान अपहरण गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भएको थियो । 

वीपीको कमाण्डर जीवी याक्थुङबा

२००७ सालमा सशस्त्र क्रान्तिका लागि नेपाली काँग्रेसले गठन गरेको मुक्ति सेनाको पूर्वाञ्चल कमाण्डरमा वीपी कोइरालाले जीबी याक्थुङमा (ज्ञानबहादुर याक्थुङबा)लाई नियुक्त गरेका थिए । जनमुक्ति सेनाले सुरुमा विराटनगर लगायत पूर्वी पहाडी लिम्बुवान क्षेत्र कब्जामा लियो । वीरगन्जमा थिरबम मल्ल र पुरन सिंहले नेतृत्व गरेका थिए । 

पूर्वी नेपालको मोर्चा वीपी कोइराला र सुवर्ण शमशेरले बिना युद्ध पनि धेरै ठाउँहरू कब्जा गरे । सशस्त्र क्रान्तिको क्रममा थिरबम मल्लले वीरगति प्राप्त गरे । पश्चिमीमा डा.केआइ सिंहले नेतृत्व गरेको मुक्ति सेनाले भैरहवा कब्जा गरे । 

क्रान्ति पछि नेपाली काँग्रेसको सरकारले जीबी याक्थुङलाई (सन् १९५३-१९५६) प्रहरी आइजिपी नियुक्त गर्‍यो । आइजिपीबाट अवकाश ग्रहण गरेपछि उनी वर्माका लागि नेपालका राजदूत नियुक्त भए । 

वीपी र साहित्यमा तेश्रो आयाम 

नेपाली साहित्यमा सर्वाधिक व्याख्या र विश्लेषण हुँदै आएको आयमेली आन्दोलनको ‘तेश्रो आयाम’को सुत्रधार वीपी कोइराला नै भएको वैरागी काइँलाले अन्तरवार्तामा खुलासा गरेका छन् । साहित्यमा मनोवैज्ञानिक कथाकार वीपीले भनेका छन् ‘म साहित्यमा अराजकतावादी हुँ ।’ तर समालोचकहरूले आयमेली आन्दोलनसँग वीपीको नाम जोडेको पाइन्न ।

आयमेली साहित्यिक आन्दोलन सुरु हुनुभन्दा धेरै अघि वीपी कोइरालाको ‘दोषी चस्मा’ २००६ सालमा प्रकाशित भैसकेको थियो । २०१५ साल तिर वैरागी काइँला दार्जिलिङको साहित्यिक माहौलमा रुमल्लिई रहेका थिए । त्यस बेला दार्जिलिङमा नेपाली कविता लेखन, सङ्गीत र नाटक क्षेत्रमा नयाँपनको खोजी/बहस चलिरहेको थियो । 

वैरागी काइँलाले अन्तरवार्तामा यस्तै बेला नेपालको पहिलो आम निर्वाचनको प्रचारका लागि वीपी पूर्वी नेपालको पहाडी जिल्ला जान दार्जिलिङ आइपुगेको बताएका छन् । वीपीको सम्मानमा दार्जिलिङका नागरिकहरूद्वारा आयोजित कार्यक्रममा वीपीले विश्व साहित्यको विषयमा छोटो तर प्रभावशाली, ज्ञानवर्धक अस्तित्ववादी, विसङ्गतिवादी दर्शनका बारेमा प्रवचन दिएका थिए । 

वैरागी काइँलाले भनेका छन् ‘यिनैका प्रभाव तन्कँदै २०२० सालको आरम्भ कालमा हामीले साहित्य लेखनमा तेश्रो आयामको महत्त्व अलिकति बुझ्यौँ, परिणाम स्वरूप ‘तेश्रो आयाम’ पत्रिका प्रकाशन भयो ।’ तेश्रो आयामको पृष्ठभूमि वीपीले विश्व साहित्यका बारेमा व्याख्या गरेकाले अस्तित्ववाद, विसंगतीवादको प्रत्यक्ष प्रभाव परेको अनुभव अन्तर्वार्तामा उल्लेख गरेका छन् ।

वीपीको प्रवचनको चर्चा गर्दै काइँलाले भनेका छन् ‘मानव जीवन सोचे जस्तो सरल सिधा हुन्न र विसंगतीपूर्ण हुन्छ । सधैँ आफू-आफू नै होइनको पीडाले परदेशी हुनुको अनुभूति यन्त्रणा अभिव्यक्त गर्न त्यति सजिलो कहाँ हुन्छ र ? परम्परागत ढाँचा र भाषामा लेखन गरिने उस बेलाको दार्जिलिङे काव्य साहित्यमा यसले हलचल ल्याउने नै भयो ।’

वीपीको त्यही प्रवचनले स्रष्टाहरूमा समसामयिक विश्व साहित्यको अध्ययनको महत्त्व त देखायो नै साथसाथै काव्य लेखनमा नयाँ शिल्प, शैली र प्रविधिको आवश्यकता र महत्त्व पनि बुझायो । जीवनलाई अवलोकन गर्न पुरातन दृष्टिमा हेरफेर ल्याएको थियो भन्ने आफ्नो अनुभव रहेको काइँलाले अन्तर्वार्तामा स्पष्ट गरेका छन् ।

आयमेली आन्दोलनको उपलब्धि

तेश्रो आयामको बारेमा धेरै व्याख्या, विश्लेषण र समालोचना ६ दशकको अवधिमा भएका छन् र हुँदैछन् । त्यसमा वैरागी काइँलाले वीपीलाई गाँसेका छन् । यसले वीपीका कथा साहित्यलाई तेश्रो आयामको दृष्टिकोणमा पुनर्मुल्याङ्कन गर्ने नयाँ विषय समालोचकहरुलका लागि खुला गरिदिएका छन् वैरागी काइँलाले ।

तेस्रो आयाम इन्द्र बहादुर राई, ईश्वर वल्लभ र वैरागी काइँलाद्वारा स्थापित एक साहित्यिक आन्दोलन थियो । त्यसले नेपाली र भारतीय साहित्यमा नयाँ दिशा प्रदान गरेको मानिँदै आएको छ । आयमेली आन्दोलन नेपाली र भारतीय साहित्यको इतिहासमा उत्तर आधुनिकतावादको सुरुवात गराउने माइलस्टोन मानिन्छ । 

आयमेली आन्दोलनका एक खम्बा इन्द्रबहादुर राईलाई नेपाली साहित्यको विविध विधामा नवीन प्रवृत्ति प्रविष्ट गराई अतिविशिष्ट योगदान दिएकामा २०५१ सालको जगदम्बाश्री पुरस्कार प्रदान गरिएको थियो । उनले भारतमा नेपाली उपन्यासका आधारहरूका लागि सन् १९७५ को साहित्य अकादमी पुरस्कार प्राप्त गरे ।

आयामेली अभियानका प्रवर्तक मध्ये एक ईश्वर वल्लभले मदन पुरस्कार, साझा पुरस्कार, रत्नश्री स्वर्ण पदक, मुक्ति पुरस्कार, व्यथित सिन्धु पुरस्कार, प्रेस काउन्सिल पुरस्कार, हरिहर शास्त्री-सावित्रीदेवी साहित्य पुरस्कारबाट सम्मानित भए । 

वैरागी काइँला तिलविक्रम नेम्वाङको पुरस्कार र सम्मानको सूची लामो छ । उनी नेपाली भाषा, साहित्यको मुलुककै प्राज्ञिक क्षेत्रको नेतृत्व गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भए । उनको सम्मानमा २०७९ चैत ४ गते धरानमा बेलायत स्थित नेपाली प्रतिभा प्रतिष्ठानले नागरिक अभिनन्दन समारोह आयोजना ग¥यो । 

सार्वजनिक नागरिक अभिनन्दनको स्मृतिलाई चिरस्थायी दस्तावेजीकरण गर्न आयोजक प्रतिष्ठानले हालै ‘वैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ’ प्रकाशित गरेको छ । करिब ४०० पृष्टको ग्रन्थमा ४ खण्डमा विभाजित छ । दुई दर्जन बढी विद्वान/लेखकहरूले काँइलाका योगदानका बारेमा लेख लेखेका छन् । 

अभिनन्दन ग्रन्थको सम्पादक मण्डलमा मिजास तेम्बे, देवेन्द्र खेरेस र प्रदीप मेन्याङबो रहेका छन् । एक हजार रुपैयाँ मूल्यको ग्रन्थमा महत्त्वपूर्ण खण्ड ‘मुन्धुम र वैरागी काइँला’ रहेको छ । त्यस बारे पछि चर्चा गरौला ।

Bairagi-kaila-grantha