इटहरी : नेपाल युवा उद्यमी मञ्च सुनसरीको आयोजनामा स्टार्टअप आइडिया प्रतियोगिता हुने भएको छ । इटहरी उद्योग वाणिज्य सङ्घको सभा हलमा प्रतियोगिता आयोजना हुन लागेको हो ।
सुनसरीका ७ वटा कलेजका विद्यार्थीले प्रतियोगितामा आइडिया प्रस्तुत गर्ने भएका छन् । हरेक वर्ष युवा उद्यमी मञ्च सुनसरीले नयाँ आइडियाको खोजी गर्ने त्यसलाई व्यवसायीकरण गर्ने गरेको छ ।
जेठ २९ गते बिहीबार कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतिरमण भण्डारीको प्रमुख आतिथ्यमा समारोह आयोजना हुने मञ्चका अध्यक्ष सिद्धार्थ श्रेष्ठले बताए ।
७ वटा प्रतिष्ठित कलेजहरूका विद्यार्थीहरूले आफ्ना नवप्रवर्तनशील व्यावसायिक विचारहरू प्रस्तुत गर्ने उनको भनाइ छ । कार्यक्रमले युवाहरूमाझ स्टार्टअप संस्कृति प्रवर्द्धन गर्न तथा व्यावसायिक सोचलाई प्रोत्साहन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने श्रेष्ठको विश्वास छ ।