धरान: कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष तथा एन्फाका मानार्थ केन्द्रीय उपाध्यक्ष किशोर राईले एन्फाले नेपाली फुटबल र खेलाडीलाई व्यवसायीक बनाउन ‘एन्फा कनेक्ट’ नीतिलाई सबै जिल्लामा कडाइका साथ लागु गर्न लागेको बताउँदै यसलाई कार्यान्वयन नगर्ने क्लबहरूलाई कुनै पनि खेलमा प्रतिबन्ध लगाउन सकिने बताएका छन् ।
एन्फाको नीति कार्यान्वयन गर्न कोशी प्रदेशमा पहिलो पटक सुनसरी जिल्ला फुटबल संघव्दारा आयोजित ‘फिफा कनेक्ट एण्ड स्पोर्टस् इञ्जुरी काउन्सेलिङ’ अनुशिक्षणमा उनले भने ‘वर्षमा एउटा प्रतियोगितामा सहभागी हुन नसक्ने क्लबले केही गर्न सक्दैन ।’
क्लबहरूले खेलाडीहरूको विवरण जिल्लामा अहिले सम्म दर्ता गराएका छैनन् । यस्तो अवस्थामा १ खेलाडी १ क्लबको नीतिमा वैधानिक व्यवस्था गर्न एन्फाले सबै जिल्लामा फिफा कनेक्ट लागु गर्ने उनले बताए ।
उनले भने ‘फुटबललाई व्यवसायीक बनाउँदै नेपाली खेलाडीको वृत्ति विकास गर्न फुटबलको विश्व बजारमा उनीहरूको पहुँच पुर्याउन फिफा कनेक्ट लागु गरिएको हो ।’ यसबाट खेलाडीहरूको उचित व्यवस्थापन हुने, फुटबलको तल्लो निकाय जिल्ला सङ्घहरू स्वायत्त रहने र क्लबहरूले उपलब्धि हासिल गर्ने उनको भनाई छ ।
सुनसरी जिल्ला फुटबल सङ्घका अध्यक्ष नवीन राईले ‘एन्फा कनेक्ट’ क्लब तथा खेलाडीको सिधा पहुँच विश्व फुटबल सङ्घ फिफा सम्म पुग्ने भएकोले प्रतिभाशाली खेलाडीहरू फुटबलको विश्व बजारमा सजिलै पुग्न सक्ने बताए ।
उनले भने ‘अब क्लबहरू फुटबल खेलप्रति गम्भीर र खेलाडीहरूप्रति जिम्मेवार हुनुपर्छ ।’ यो क्लबहरूको लागि व्यवस्थित हुने अवसर हो र यसले खेलाडीहरूलाई व्यवसायीक बन्ने निश्चितताको प्रत्याभूति दिने अध्यक्ष राईले बताए ।
वरिष्ठ पत्रकार हर्ष सुब्बाले स्कुले जीवन देखी नै फुटबलप्रति लगाव भएका बालबालिकाको भविष्य र अभिभावकको व्यवसायीक खेलाडी बनाउने विश्वासलाई फिफा कनेक्ट ले परिणाममुखी दिशामा अघि लैजाने बताए । यसले एन्फा एकेडेमी र क्लबहरूका लागि गौरवको विषय बनाउने भएको बताए ।
अनुशिक्षण गोष्ठीमा फिफा प्रशिक्षक राजकुमार श्रेष्ठले फिफा कनेक्ट का विषयमा प्राविधिक जानकारी र नियमहरूबारे प्रशिक्षण दिने छन् । अनुशिक्षण को स्पोर्टस् इञ्जुरी काउन्सेलिङ सत्रमा बिपी प्रतिष्ठान हाड जोर्नी विभागका प्रोफेसर डा.विष्णु पोखरेलले खेलाडीको स्वास्थ्य, फुटबलमा हुने इञ्जरको तत्कालीन रेस्क्यु, आपतकालिन उपचारका बारेमा प्रशिक्षण दिने छन् ।
अनुशिक्षण गोष्ठीमा सुनसरीका १० ए डिभिजन, ७ बी डिभिजन क्लबहरूका पदाधिकारी, प्रशिक्षक र एन्फा एकेडेमीका प्रशिक्षार्थीहरू सहभागी छन् । गोष्ठी उद्घाटन सत्रको कार्यक्रम सञ्चालन जिल्ला फुटबल सङ्घका महासचिव कोविद जङ्ग कार्कीले गरेका थिए ।