वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकामा आधारभूत तह कक्षा १ देखि ३ सम्म शिक्षण गर्ने शिक्षकहरूको लागि एकीकृत पाठ्यक्रम सम्बन्धी कस्टमाइज्ड तालिम आयोजना गरिएको छ ।
उक्त तालिम वराहक्षेत्र नगरपालिका शिक्षा , युवा तथा खेलकुद शाखाको आयोजनामा सोमबारबाट सुरु भएको हो ।
नगरपालिका शिक्षा,युवा तथा खेलकुद शाखाका प्रमुख उत्तम राज भारतीका अनुसार नगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार उक्त कार्यक्रम आयोजना गरिएको हो ।
तालिममा नगरपालिका भित्र रहेका सामुदायिक तथा धार्मिक विद्यालयका शिक्षक तथा शिक्षिकाहरूको सहभागिता रहेको छ ।
सोमबारबाट ५ दिनसम्म आयोजना हुने उक्त तालिम वराहक्षेत्र नगरपालिका वडा नं १ देखि ५ सम्मका शिक्षक तथा शिक्षिकालागि चतरा स्थित आदर्श माध्यमिक विद्यालयको सभा हल र वडा नं ६ देखि ११ सम्मको शिक्षक तथा शिक्षिकालागि चक्रघट्टि स्थित महेन्द्र माध्यमिक विद्यालयको प्राङ्गणमा रहेको स्रोत केन्द्रको भवनमा आयोजना भई राखेको छ ।
चतराको आदर्श माध्यमिक विद्यालयको सभा हल २४ जना र चक्रघट्टि स्थित महेन्द्र माध्यमिक विद्यालयको प्राङ्गणमा रहेको स्रोत केन्द्रको भवनमा ३५ जना शिक्षक तथा शिक्षिका सहभागी रहेका छन् ।