विराटनगर : सुनसरीको दुहबी नगरपालिकाले ९३ करोड ६४ लाख ५६ हजार ८ सयको बजेट सार्वजनिक गरेको छ ।
१७ औँ नगर सभा बैठकमा बजेट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपमेयर मेनुका पोखरेल (खतिवडा)ले चालुतर्फ २१ करोड ९२ लाख ७० हजार र पुँजीगत तर्फ ७१ करोड ७२ लाख ८६ हजार ८०० रुपैयाँको विनियोजन गरेकी हुन् ।  
बहुउपयोगि व्यावसायिक भवन निर्माणको लागि ९ करोड १७ लाख विनियोजन भएको छ । सार्वजनिक निजी साझेदारी मोडेलमा भवन निर्माण गर्न लागिएको र त्यसबापत पालिकाले आम्दानी गर्ने उपमेयर पोखरेलको भनाइ छ ।
आधारभूत स्वास्थ्य सेवाको लागि ६ करोड ९६ लाख विनियोजन गरिएको छ । पालिकाले विपन्न तथा गरिब जनतालाई निःशुल्क स्वास्थ्य बिमा तथा निःशुल्क मोतिया विन्दु र जल विन्दुको अपरेसन गर्ने भएको छ ।
दुहबी रङ्गशाला निर्माणमा १ करोड ९७ लाख विनियोजन गरेको बताउँदै खतिवडाले दुहबीलाई खेलकुदको उर्वर पालिका बनाउने बताइन् । 
दुहबीले छिमेकी बुढिगंगा गाउँपालिका सँग मिलेर सार्वजनिक निजी साझेदारीमा फोहोर मैला व्यवस्थापन गर्ने भएको छ । स्थानीय उद्योगलाई समेत फोहोर मैला व्यवस्थापनमा थप कडाइ गर्ने पालिकाले नीति लिएको हो । १२ वडामा समेटिएको दुहबी नगरपालिकालाई प्रतिवडा ९० लाखको सिलिङ तोकिएको छ ।