धरान : केन्द्रीय प्रविधि क्याम्पस परीक्षा केन्द्रमा सञ्चालित परीक्षाको उत्तर पुस्तिका त्यहाँको परीक्षा शाखाको लापरबाहीका कारण इलाका प्रहरी कार्यालयमा राखिने गरेको छ ।
गत: असार ३ गते क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयको टोली परीक्षा अनुगमन गर्न आउँदा परीक्षा शाखामा उत्तर पुस्तिकाहरू शिलबन्दी नगरी राखिएको पाइएपछि परीक्षा सकिने बित्तिकै उत्तर पुस्तिकाहरू प्रहरीलाई जिम्मा दिने गरिएको हो ।
क्याम्पस प्रमुख प्राध्यापक वसन्त राईले उक्त कुराको पुष्टि गरे । त्रिविको नियमानुसार परीक्षा सकिएको १ घण्टा भित्र उत्तर पुस्तिका शिलबन्दी गरेर केन्द्रीयध्यक्ष वा प्रहरीको जिम्मा दिइसक्नु पर्छ । उक्त दिन क्याम्पसमा बिटेक र बिएस्सीको परीक्षा चलेको थियो ।
क्याम्पसमा त्रिविको ३ फ्याकल्टीका स्नातक तहको कोशी प्रदेशका आङ्गिक क्याम्पसहरूको परीक्षा सञ्चालन भइरहेको छ । परीक्षामा आंशिक परीक्षार्थीहरू समेत ३०० को सङ्ख्यामा सहभागी हुने गरेका छन् ।