इटहरी : यो समय गर्मी बढी हुने समय हो । वैशाख देखि भदौ अन्तिम सम्म तराईका जिल्लाहरूमा चर्को गर्मीसँगै तातो हावा चल्न सक्छ। पानी नपरेको बेला लाग्ने चर्को घाम र चल्ने तातो हावाले तराइको जनजीवन प्रभावित बनाउँछ । यस्तै पहाडी क्षेत्रमा पनि गर्मीले दैनिक जीवनयापनलाई कठिन बनाउँछ ।
चर्को गर्मीमा शरीरको तापमानको सन्तुलन बिग्रँदा मानिसलाई 'लु' लाग्ने खतरा पनि हुन सक्छ । योसँगै गर्मीको समयमा विभिन्न स्वास्थ्य समस्या देखिन्छ । कडा टाउको दुख्ने, चक्कर लाग्ने, बान्ता हुने, पखाला लाग्ने, वाकवाकी लाग्ने, बेचैनी हुने, उच्च ज्वरो आउने जस्ता स्वास्थ्य समस्या देखिन सक्छ ।

यस्तो बेला गर्मीबाट बच्ने उपायहरू अपनाउनुपर्छ । गर्मीमा दिनभरि प्रशस्त पानी पिउने, नरिवलको पानी, मोही र कागती पानीजस्ता पेय पदार्थले राम्रो गर्छ।
क्याफिन र अल्कोहलयुक्त पेय पदार्थको सेवन गर्नु हुँदैन । घाममा धेरै समय नबस्ने । घाममा जाँदा सनस्क्रिन लगाउने । टोपी, गम्छा लगाउने, घाममा बाहिर निस्कँदा सन ग्लासको प्रयोग गर्ने गर्नुपर्छ ।
गर्मीको समयमा वृद्धवृद्धाहरु र साना बच्चाहरूमा गम्भीर समस्या देखिन सक्छ । यस्तो बेला उनीहरूको विशेष ख्याल गर्नुपर्छ ।
गर्मीका बेला यसरी अपनाउन सकिन्छ सावधानी
गर्मीमा काँचो प्याजको सेवनले शरीरलाई चिसो बनाउन मद्दत गर्छ । प्याजमा पाइने गुणहरूले प्राकृतिक शीतलता प्रदान गर्छ ।
सलाद वा चटनीका रूपमा खान सकिने काँचो प्याजले शरीरलाई निर्मलीकरणबाट बचाउन मद्दत गर्छ ।
पुदिनाको सेवन लाभदायक हुन्छ । पुदिना एन्टी-माइक्रोबियल र एन्टी-इन्फ्लामेटरी गुणहरूले भरिपूर्ण छ । गर्मीमा पुदिनाको सेवनले पेटलाई शीतलता प्रदान गर्नुका साथै पाचनसम्बन्धी समस्याबाट पनि राहत मिल्छ।
दहीको सेवनलाई पनि राम्रो मानिन्छ । दहीमा पाइने प्रोबायोटिक्सले आन्द्राको स्वास्थ्यलाई राम्रो बनाउन र पाचन क्रियालाई राम्रो बनाउन मद्दत गर्छ । दहीलाई सुपरफुडमा गनिन्छ। शरीरमा हाइड्रेसन कायम राख्न र गर्मीको लहरको प्रभावलाई कम गर्न यसले मद्दत गर्छ ।
यो समयमा हरियो तरकारी तथा सागसब्जी प्रशस्त खानुपर्छ । कागती, तरबुजा, हरियो सागसब्जी, कागती आदि खाँदा हाइड्रेसन कायम रहन्छ र पचाउन पनि सजिलो हुन्छ ।