धरान: किरात याकथुङ चुम्लुङको धरान–१५ स्थित चुम्लुङ हिम परिसरमा पहिलो पटक आज असार १५ गते धान दिवस मनाइएको छ ।
हिमको खुल्ला हल दक्षिण खालि ठाउँमा बनाइएको नमुना खेतमा आइतबार बिहान धान रोपाई गरिएको हो ।
कार्यक्रममा चुम्लुङका केन्द्रीय उपाध्यक्ष डा.कमल तिगेला लिम्बुले प्रागैतिहासिक कालमा लिम्बु जाति कृषि युगमा प्रवेश गरेपछि उत्तरी तिब्बत क्षेत्रबाट धान ल्याएर गरेको इतिहास पाइने बताए ।
उनले लिम्बु जातिका धान नाच, यक्वा तङनाम, चासोक तङनामको मुन्धुममा अन्नबालीको कुरा उल्लेख रहेको बताउँदै भने ‘त्यसबाट पूर्वका पहाडी क्षेत्रमा सबै भन्दा पहिला लिम्बु जातिले धान रोप्न थालेको बुझिन्छ ।’
धरान–१५ का वडाध्यक्ष नरेश इङवारमले लिम्बु पर्व र संस्कृतिहरू कृषि जीवनसँग सम्बन्धित रहेको पाइने गरेकाले रोपाई पर्वको परम्परा मुख्य रूपमा लिम्बु जातिबाट सुरु भएको मान्न सकिने बताए ।
प्रमुख अतिथि चुम्लुङ सुनसरीका पूर्व जिल्ला अध्यक्ष मोहनकुमार हुक्पाचोङबाङले जीवन धान्ने मुख्य अन्नबाली धान रोपाई इतिहासकाल देखी एक अर्कालाई सघाएर गरिने अन्नबाली भएकोले धान रोपाई साझा पर्वको रूपमा विकसित भएको बताए ।
चुम्लुङ हिममा पहिलो पटक मनाइएको धान दिवस लिम्बु पत्रकार सङ्घ सुनसरीले आयोजना गरेको हो । सभापति स्वर्णिमहाङ लिम्बुका अनुसार लिम्बु जातिको यक्वा तङनाममा बिउ विजन छर्ने परम्परा छ ।
त्यसरी छरिएका बिउ धान दिवसका दिन साङ्केतिक रूपमा रोपाई गरिएको हो । उनले भने ‘आज रोपिएको धान चासोक तङनामको बेला पाके पछि न्वागी चढाउनका लागि हो ।’
कार्यक्रममा चुम्लुङ केन्द्रीय सदस्य सङ्गीता सुब्बा, सल्लाहकार दुर्गामाया लिम्बु, हर्ष सुब्बा, आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय समितिका अध्यक्ष हेमराज जिमी लगायत जातीय संस्थाका अगुवाहरूको पनि उपस्थिति थियो ।
सोही अवसरमा लिम्बु पत्रकार सङ्घले पत्रकारिता पुरस्कारका लागि अक्षयकोष खडा गर्न सुरु गरेको ‘एक सुकी अभियान’ मा १५ दिन भित्रमा सङ्कलन भएको रकमको हिसाब पनि सार्वजनिक गर्यो ।