धरान: २०३३ सालमा सर्दु जलाधार क्षेत्र घोषित भई उठान क्षेत्रमा परेकाहरूले सट्टा भर्ना पाएको तर उठान क्षेत्रमा नपरेका अहिले बसोबास गरिरहेकाहरूले जलाधार क्षेत्रको पुनः सिमाङ्कन गर्न माग गर्दै आएका छन् ।
उनीहरू वर्षौँ देखी जग्गा रोक्का हुँदा पीडित छन् । हाल धरान–१३ सूर्य उदय टोल सुधार समितिले  उदय मार्ग साबिक बाझगरा ९ क घोपा ७ घ र ङ जग्गा रोक्का फुकुवा तथा सिमाङ्कन समिति गठन गर्न माग गर्दै आज सोमवार स्थानीय सरकार प्रमुख हर्क साम्पाङ र उपप्रमुख अईन्द्र  विक्रम बेघालाई माग पत्र बुझाएको छ ।
मेरो पहुँच भन्दा बाहिरको कुरा: प्रमुख साम्पाङ 
माग पत्र बुझ्दै नगरप्रमुख साम्पाङले सर्दु जलाधार क्षेत्रको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको बताउँदै भने ‘अहिले कुनै पनि काम कारवाही  अगाडी बढ्दैन ।’
उनले भने ‘सर्वोच्च अदालतले मुद्दा फैसला गर्दे सिमाङ्कन समिती गठन गर भन्यो भने म आफै तुरुन्त  अमिन लिएर जग्गा नाप्न खटिन्छु, तर सर्वोच्च अदालतमा विचाराधीन रहेको कुरामा म केही गर्न सक्दिन । मेरो पहुँच भन्दा बाहिरको कुरा भयो ।’
उनले सर्वोच्च अदालत भन्दा ठुलो पुनरावेदन अदालत र स्थानीय सरकार नभएको बताए । हाल बाझगरा ९ क घोपा ७ घ र ङ जग्गा रोक्का फुकुवा तथा सिमाङ्कन पहल समिति गठन गर्न नसकिने उनले स्पष्ट गरे । 
वडा १३ ले रोक्का रहेका जग्गाहरूको कर सङ्कलन गर्दै आएकोमा उनले आपत्ति जनाउँदै भने ‘मेरो मातहतबाट चल्ने होइन १३ नम्बर वडा ? आदेश विपरीत कसरी अहिले कर सङ्कलन गर्‍यो?’
नगर प्रमुख साम्पाङले वडालाई कर सङ्कलन बन्द गर्न आदेश दिएको बताउँदै भने ‘अदालतको सम्मान गर्छु, लगभग म रहिन्जेल सर्वोच्चले फैसला पनि गर्दैन होला पेशी सारेको सारै गर्छ ।’
जनभावना विपरीत कार्यगर्नेलाई जनताले बहिष्कार गर्नुपर्छ: उपप्रमुख बेघा 
माग पत्र बुझ्दै उपप्रमुख बेघाले नागरिकलाई आतङकीत र असहज केही कसैले बनाउन नहुने बताए । उनले भने ‘जनताको भावना विपरीत कार्य गर्ने गराउने नगरप्रमुख, उपप्रमुख वडाध्यक्षलाई बहिष्कार गर्न सक्नुपर्दछ ।’
जनतालाई अनिर्णयको बन्दी बनाउने छुट कुनै जनप्रतिनिधि नभएको उनको भनाई थियो । जनताको भावना बाहिर काम गर्ने नेतृत्व हुन सक्दैन ।जनताको भावना विपरीत कार्य गर्छु भनेर सपना देख्छ भने सपना सपनामा सीमित हुन्छ जनताले देखाउन सक्नुपर्दछ । 
उनले ३५ सय घरधुरीलाई अनिर्णयको बन्दी कसरी कुन ठाउँबाट भएको हो ? आफै खोजी गर्ने बताए । उपप्रमुख बेघाले भने ‘कर तिर्दे गरेका जनतालाई किन नगर प्रमुख ज्युले कर नलिनु भनी पत्र काट्नु भएको हो म बुझौला ।’
सर्वदलीय बैठकको निर्णय अनुसार माग पत्र
यसअघि २०८० भदौ १९ र २२ गते कोशी प्रदेश सांसद रमेशकुमार बस्नेत, पूर्व नगर प्रमुखहरू र सरोकारवाला वडा ४, १३, २० का अध्यक्षहरूको उपस्थितिमा र राजनितिकदल, पिडितपक्ष पहल समितिले सिमाङ्कन गर्न प्रक्रिया अगाडी बढाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार सर्दु जलाधार पीडितहरूले जग्गा रोक्का फुकुवा तथा सिमाङ्कन गर्न माग गरेको हो । 
माग पत्र लिएर सूर्य उदय टिएलोका अध्यक्ष तीर्थराज पोखरेल सहित पदाधिकारीहरूले नगर प्रमुख र उपप्रमुखलाई भेट गरेका हुन । उनीहरूको माग पत्रमा  रोक्का फुकुवा तथा सिमाङ्कनको प्रक्रिया कार्यपालिका बैठकले अगाडि बढाउँदै सम्बन्धित मन्त्रालयलाई सिफारिस गर्न माग गरेका हुन ।
माग पत्रमा के छ ?
माग पत्रमा मालपोत कार्यालय धरानले पछिल्लो लगत कट्टा ३१३ बिघा २ कट्ठा १७ दशमलव ७५ नेपाल सरकाको नाममा स्रेस्ता मिलान भएको अभिलेखबाट देखिएको र अब लगत कट्टा हुन बाकी ३२ विधा ३ कट्टा १५ दशमलव २५ धुर जग्गा हाल विवादमा रहेको उल्लेख छ । 
तर ३४५ विधा ४ कठा १२ धुर जग्गा सट्टाभर्ना नपाएको र उठान क्षेत्र भित्र नपरेकोले मालपोत कार्यालय धरानले पछिल्लो लगत कट्टा ३१३ बिघा २ कट्ठा १७.७५ नेपाल सरकाको नाममा स्रेस्ता मिलान भई सकेकाले बाझगरा ९क र घोपा ७ घ, ङ को जग्गाको सिमाङ्कन गरिनु पर्ने माग गरिएको छ ।
upamayr-sardu-jaladhar-gyap