धरान : दुई महिना अघि नगर प्रमुख हर्क साम्पाङको श्रमदान कार्यक्रमका बिच बालिकासँग भएको यौन दुर्व्यवहारको घटना मिडियामा आएपछि अभिभावकलाई बोलाएर इलाका प्रहरी कार्यालय धरानले जाहेरी लिएको डिएसपी प्रकाश जवेगुले बताएका छन् ।
मुख्य आरोपी धरान-१७ पृथ्वी चौक घर भएका ४९ वर्षीय खजिन्द्र  राईलाई पक्राउ गरी सार्वजनिक गर्न आज शुक्रवार बिहान आयोजित पत्रकार सम्मेलनमा उनले उक्त घट्ना बारे मिडिया सामाजिक सञ्जालमा आउनु अघि कसैले प्रहरीले सूचना नदिएको बताए ।
पक्राउ परेका राईले यौन दुर्व्यवहार गरेको घट्नापछि भएको विवाद श्रमदानको भिडियो खिच्ने युट्युबरहरुले पनि खिचेका थिए तर, सार्वजनिक गरेनन् भनी धरान बाल सञ्जालले नेपाल पत्रकार महासङ्घ सुनसरीमा समेत उजुरी गरेको छ ।
गत: वैशाख १७ गते बुधवार धरान–१६ स्थित बहुभाषिक पाठशालामा श्रमदान चलिरहेको बेला राईले बालिकालाई यौन हिंसा गरेका थिए । घटनाको २ महिनापछि पाठशाला नजिकै निर्माणाधीन प्रहरी चौकी भवनको बारे विवाद उत्पन्न भएपछि वडाध्यक्ष मुरारी भट्टराई सहित स्थानीय समुदायले उक्त घट्नाको खुलासा गरेपछि मिडियामा आएको हो । 
धरान–१६ नौलो बस्तीकी १३ बर्सिया बालिकालाई यौन दुर्व्यवहारको आरोप लागेका खजिन्द्र  राई पक्राउ परे पश्चात् आज शुक्रवार इलाका प्रहरी कार्यालय धरानले सार्वजनिक गरेको छ । जाहेरीमा पहिचान नखुलेका राईलाई पहिचान खुलेपछि बिहीबार साँझ घर बाटै पक्राउ गरिएको हो । 
पत्रकार सम्मेलनमा डिएसपी जवेगुले उनको बारेमा अनुसन्धान सुरु गरिएको बताएका छन् । उनले भने ‘घट्नाको विस्तृत विवरण आइसकेको छैन ।’ उनलाई बालबालिका सम्बन्धी कुन ऐनमा कारबाही अघि बढाइन्छ प्रहरीले खुलाएको छैन ।
के हो बाल यौन दुरुपयोग ?
बालबालिका सम्बन्धी ऐन २०७५ को परिच्छेद ८ को दफा ६६ मा बालबालिका विरुद्ध हुने कसुर सम्बन्धी व्यवस्था छ । दफा ६६ को उपदफा ९३० मा कस्तो कार्यलाई बाल यौन दुर्व्यवहार मानिन्छ र त्यस्तो कार्य गर्नेलाई कस्तो कारबाही हुन्छ भन्ने व्यवस्था छ ।
उपदफा ३ (क) अश्लील तथा यौनजन्य आचरण, व्यवहार झल्कने अभिव्यक्ति, हाउभाउ प्रदर्शन गर्ने, बाल अश्लीलता प्रदर्शन गर्ने, गराउने गरेमा बाल यौन दुरुपयोग गरेको मानिने उल्लेख छ । यस्तो गतिविधि गर्ने व्यक्तिलाई ७५ हजार रुपैयाँ जरिवाना र तीन वर्षसम्म कैद हुने व्यवस्था ऐनमा छ ।
यस्तै, दफा ६६ को ३ (ङ) मा यौनजन्य मनसायले शरीरको संवेदनशील अङ्गमा छुने, चुम्बन गर्ने, समाउने, अङ्कमाल गर्ने वा आफ्नो, अरू कसैको शरीरको संवेदनशील अङ्ग छुन, समाउन लगाएमा बाल यौन दुरुपयोग भएको मानिने उल्लेख छ ।
यस्तो कसुर ठहरेमा ७५ हजार रुपैयाँ जरिवाना र तीन वर्षसम्म कैद हुने व्यवस्था छ । साथै, यस्तो कसुर गर्नेलाई बालबालिका सम्बन्धी ऐन २०७५ ले प्रचलित कानुन अनुसार जबरजस्ती करणीको कसुरमा कारबाही हुने भनेको छ ।
प्रचलित कानुन मुलुकी अपराध संहिताको परिच्छेद १८ को दफा २१९ मा जबरजस्ती करणीसम्बन्धी कसुरमा सजायको व्यवस्था छ । जसमा कुनै महिलाको मन्जुरीबिना करणी गरेमा वा १८ वर्षमुनिका बालिकालाई मनाएरै करणी गरे पनि जबरजस्ती करणी मानिने उल्लेख छ । 
१४ वर्ष वा १४ वर्षभन्दा बढी १६ वर्षभन्दा कम उमेरका बालिकालाई करणी गरेमा १२ वर्षदेखि १४ वर्षसम्म कैद हुने व्यवस्था छ ।