वराहक्षेत्र : श्रावण महिनामा चतरा धाम स्थित कौशिकी (कोशी) नदीको जल चतरा स्थित औलिया बाबा मठमा परिक्रमा गरी धरान स्थित पिण्डेश्वर बाबा धाममा चढाउने परम्परा रहेको छ ।
सोही अवसरमा वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित चतरामा श्रावण महिनाको आइतबार र सोमवार लाग्ने बोलबम मेला लाग्ने गर्दछ ।
उक्त मेलाको व्यवस्थापनका लागि शुक्रबार विभिन्न समिति गठन गरिएको छ ।
वडा नं १ को कार्यालयमा आयोजना भएको भेलाले मेला मूल व्यवस्थापन समिति तथा विभिन्न आवश्यक उपसमितिहरू गठन गरिएको हो ।
नगरपालिकाको कार्यालयसँगको समन्वयमा वडा नं १ को कार्यालयले आयोजना गरेको सर्वदलीय तथा सर्वपक्षीय भेलाले मेला व्यवस्थापन समितिको संरक्षकमा नगर प्रमुख रमेश कार्कीलाई चयन गरेको छ ।
समितिको संयोजकमा नगर उपप्रमुख नन्दकुमारी सुनुवार रहेकी छिन् ।
जसमा सदस्यहरूमा वडा नं १ का वडाध्यक्ष किसन थापा, वडा नं १ का वडा सदस्यहरू, राजनैतिक दलका प्रतिनिधि, खानेपानी, रेडक्रस, चतरा अस्पताल, उद्योग वाणिज्य सङ्घ, सुरक्षा निकाय, धार्मिक सङ्घ, संस्था सदस्य रहेका छन् ।
त्यस्तै मेला आर्थिक व्यवस्थापन समितिको संयोजकमा वडा नं १ वडाध्यक्ष किसन थापा रहेका छन् ।सदस्यमा नगरपालिका लेखापाल गौरी राय , उद्योग वाणिज्य सङ्घ चतरा, नेपाल रेडक्रस सोसाइटी र सदस्य सचिवमा वडा नं १ का सचिव लक्ष्मण पौडेल रहेका छन् ।
शान्ति सुरक्षा उपसमितिमा इलाका प्रहरी कार्यालय चतरा,सशस्त्र प्रहरी बल बेसक्याम्प चतरा रहेकाछन् ।
त्यस्तै स्वास्थ्य उपसमितिको संयोजकमा चतरा अस्पताल, खानेपानी तथा सरसफाइ उपसमितिको संयोजकमा तोरी वारी खानेपानी उपभोक्ता समिति,स्नान स्थल तथा बिपद व्यवस्थापन उपसमिति सशस्त्र प्रहरी बल बेस क्याम्प चतरा रहेका छन् ।
सरसफाइ व्यवस्थापन उपसमितिको संयोजकमा देउराली युवा क्लब र वराहक्षेत्र मन्दिर वातावरणीय संस्थान,शान्ति सिर्जना क्लब, आगन्तुक व्यवस्थापनमा उपसमितिमा उद्योग वाणिज्य सङ्घ चतरा रहेको छ ।
विद्युत् संयोजकमा वडा नं १ का वडा सदस्य दीपक राई, स्नान घाट व्यवस्थापन समितिको संयोजकमा स्थानीय देउराली युवा क्लब, प्रचार प्रसार उपसमितिको संयोजकमा स्थानीय पत्रकार भविन राउत, अनुगमन व्यवस्थापन उप-समितिको संयोजकमा नगर उपप्रमुख नन्दकुमारी सुनुवार, स्वयंसेवक उपसमितिको संयोजकमा स्काउटलाई जिम्मेवारी दिएको वडा नं १ का सचिव लक्ष्मण पौडेलले जानकारी दिए ।
कार्यक्रममा बोलबम मेलाको व्यवस्थापन, प्रचार प्रसार र मेलालाई व्यवस्थित तथा आकर्षित बनाउने विषयमा उपस्थित सरोकारवाला निकायले आ-आफ्नो धारणा राखेका थिए । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख कार्कीले मेलालाई सभ्य, भव्य बनाउन लागि पर्न आग्रह गरेका थिए । मेलाको व्यवस्थापनमा नगरपालिका लागि पर्ने उनले बताए ।
वडा नं १ का कार्यवाहक अध्यक्ष दीपक राईको सभाध्यक्षतामा आयोजना भएको कार्यक्रममा नगर प्रमुख रमेश कार्की, प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल, राजनैतिक दलका प्रतिनिधि, खानेपानी, रेडक्रस, चतरा अस्पताल, उद्योग वाणिज्य सङ्घ, सुरक्षा निकाय, पत्रकारहरू, धार्मिक सङ्घ, संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।