धरान : नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको धरान भानु चौक स्थित शालिकमा आज आइतबार बिहान माल्यार्पण गरी २१२ औँ भानु जयन्ती मनाइएको छ ।
नेपाली लेखक सङ्घ सुनसरीको आयोजनामा भएको माल्यार्पण कार्यक्रममा प्रमुख अतिथि धरान सङ्गीत प्रतिष्ठानका अध्यक्ष तथा धरान–२ का वडाध्यक्ष रमेश राईले नेपाल भाषा साहित्यको सन्दर्भमा मात्र नभएर नेपाली गीत, सङ्गीतको क्षेत्रमा पनि भानु जयन्ती स्मरणीय दिवस भएको बताए ।
उनले भानुभक्तको श्लोकमय कविताहरू नेपाली भाषाको गीत÷सङ्गीतका प्रेरणाको प्रथम श्रोत भएको बताए । उनले भने ‘नेपाली भाषाको विकासबाट भएको कविता साहित्यको रचनाले नै नेपाली सङ्गीतको विकास अहिलेको अवस्था सम्म आएको हो ।’
नेपाली लेखक सङ्घका केन्द्रीय सदस्य प्राडा.गोपाल प्रसाद भण्डारीले भानभक्तिय ‘रामायण’ नेपाली भाषाको विकासमा गरेको योगदानको चर्चा गर्दै विश्वभर फैलिएका नेपालीहरूलाई एउटै पारिवारिक सूत्रमा बाँध्ने कार्य नेपाली भाषाले गरेको बताए ।सङ्घका जिल्ला अध्यक्ष हर्ष सुब्बाले भाषिक रूपमा नेपाली भाषाले नेपालको एकीकरण गरेको बताउँदै भानु जयन्ती नेपालमा मात्र नभएर विदेशमा पनि भव्य रूपमा मनाउने गरिएको उल्लेख गरे ।
धरानमा माल्यार्पण कार्यक्रममा सीति हुँदै आएको भानु जयन्तीलाई नेपाली लेखक सङ्घले सार्थक रूपमा मनाउन यसपालि १ अग्रजलाई सम्मान सहित ३ स्रष्टाको रचना वाचन सहित टिकटमा कविता आयोजना गर्न लागेको जानकारी दिए ।
उक्त अवसरमा सङ्घका सदस्य प्राडा चन्द्रमणि नेपालले स्वागत भाषण गरेका थिए । सचिव विजय घिमिरेले सञ्चालन गरेको कार्यक्रममा आनन्द आचार्य, गिरराज आचार्य, प्राडा खेमराज खनाल, वंशीधर कट्टेल, कवि यत्री डा. अस्मिता विष्ट, पुष्पराज ढकाल लगायतले भानुको शालिकमा माल्यार्पण गरेका थिए ।
कार्यक्रम भानु चौक स्थित भानुभक्तको शालिकमा भएको भएको हो ।२०३४ सालमा यातायात व्यवसायीहरुव्दारा स्थापित शलिकलाई धरान वडा २ लेख संरक्षण, आधुनिकीकरण गर्ने कार्य गर्दै आएको छ ।
भानुको शालिक धरान बाहिरबाट आउने पर्यटकहरूका लागि पहिलो दृश्यावलोकनको गन्तव्य बनेको छ ।
भानु जयन्तीको अवसरमा आज साँझ वडा कार्यालयको शालिक वरिपरि दीप प्रज्वलन कार्यक्रम पनि रहेको छ ।