धरान : श्रमदानबाट बनेको भनिएको धरान-१६ बहुभाषिक पाठशालाको ग्याबिन पर्खाल निर्माण कार्यको डोर हाजिरी कागजको आधारमा उपभोक्ता समितिले ७ लाख ३१ हजार १५७ रुपैयाँ रकम भुक्तानी लिएको छ ।
धरान उपमहानगरपालिकाका उपप्रमुख अईन्द्र विक्रम बेघाले ‘नगर प्रमुख हर्क साम्पाङले श्रमदानको नाममा खडा गरेको किर्ते फायलमा म हस्ताक्षर गर्दिन’ भनेर अस्वीकार गरेको रकम ११ जना वडाध्यक्ष, कार्यपालिका सदस्यहरू र प्रमुख प्रशासकीय अधिकृत अम्बिका प्रसाद चौलागाईको सहमतिमा भुक्तानी भएको हो ।
श्रमदानबाट बनेको भनिएको धरान-१६ बहुभाषिक पाठशालाको ग्याबिन पर्खाल निर्माण कार्यको नगरपालिका कोषबाट रकम निकाल्न डोर हाजिरी गरिएको पाइएपछि ठुलै विवाद भएको थियो । 
उक्त रकम भुक्तानी नभए अन्य सबै निर्माणको भुक्तानी नहुने भन्दै नगर प्रमुख साम्पाङले लेखा शाखाबाट ३०/४० वटा भुक्तानीको प्रक्रियामा रहेका फायलहरू कब्जामा लिएका थिए । प्रमुख साम्पाङले डोर हाजिरीको रकम भुत्तानी नभई कुनै पनि भुक्तानी नहुने सर्त राखेका थिए ।
उनको सर्तमा सहमति गर्दै डोर हाजिरीको रकम भुक्तानी गर्न असार २३ गते मङ्गलवार नगर प्रमुख साम्पाङ सहित धरान १, २, ३, ५, ८, ९, ११, १५, १६, १८, २० का वडाध्यक्ष,कार्यपालिका सदस्यहरू विकास भाटी, सृजना नेपाल, विनीता बज्राचार्य, अनुप देवान, साबित्रा परियार, प्रमुख प्रशासकीय अधिकृत अम्बिका प्रसाद चौलागाई, बजार अनुगमन अधिकृत वेद प्रसाद सापकोटा, योजना प्रमुख वरिष्ठ इन्जिनियर सुरज श्रेष्ठ लगायतले अनुगमन गरी लिखित सहमति गरेका थिए । 
सहमतिमा उपप्रमुख अइन्द्र विक्रम बेघले हस्ताक्षर गरेका छैनन् । उक्त रकमको चेक धरान-१६ को उपभोक्ता समितिका अध्यक्ष धरान–१४ का प्रसाद राईले बुझिलिएका छन् ।
लिखित सहमति यस्तो छ :
gyabani-sahamati-patra