धरान: काठमाण्डौमा शनिवार हुने ‘राजेन्द्र केसी स्मृति हिमालयन १०० एक्स टु ब्लिट्ज चेस प्रतियोगिता’मा अण्डर–७ देखी भेट्रान बुद्धिचाल खोलाडिहरु २०० जना बिच प्रतिस्पर्धा हुँदैछ । 
त्रिपुरेश्वर वोगनभिल्लामा हुन प्रतियोगितामा खुला यु १५ बाहेक महिला, भेट्रान, फिडे रेटिङ १७०० मुनि, १५०० मुनि, अनरेटेड, यु १३, यु ११, यु ९, यु ७ र वेस्ट एचसीए स्पर्धा समावेश गरिएको छ । उमेर समूह र वेस्ट एचसीएमा गल्र्स र ब्याइजका दुवै खेलको प्रतिस्पर्धा हुनेछ । 
खुलातर्फका विजेताले १० हजार, उपविजेताले ७ हजार र तेस्रो हुनेले ५ हजार पाउनेछन् । खुलातर्फ उत्कृष्ट १०, यु १५ मा शीर्ष ७ सहित सबै स्पर्धाका विजेताले नगद पुरस्कार पाउनेछन् ।  
आयोजक हिमालयन चेस एकेडेमीकी अध्यक्ष मोनालिसा खम्बुका अनुसार एक दिने प्रतियोगितामा खुलासहित १७ स्पर्धामा ६७ हजार रुपैयाँ पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । उनका अनुसार पहिलो संस्करणमा १ सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए, यसपालि २ सय खेलाडी खेल्दैैछन ।
खम्बुले भनिन् ‘यो संख्याले नेपालमा सबभन्दा बढी खेलाडी सहभागी हुने ब्लिट्ज चेस प्रतियोगिताको रेकर्ड बनाउनेछ ।’ 
गत वर्ष अन्तर्राष्ट्रिय बुद्धिचाल महासङ्घ (फिड) शतवार्षिकीमा आयोजित हिमालयन १०० मा १ सय खेलाडी सहभागी थिए । उक्त प्रतियोगिता फिडेको विश्वव्यापी गिनिज वर्ल्ड रेकड्र्समा दर्ता भएको थियो । त्यसैको दोस्रो संस्करण ‘राजेन्द्र केसी स्मृति हिमालयन १०० एक्स–२’ को रूपमा हुन लगेको हो । 
नेपाल बिलियर्ड, स्नुकर तथा पुल सङ्घका केन्द्रीय सदस्य राजेन्द्र केसी भोटे बहाल युवा क्लबका पूर्व अध्यक्ष थिए । उनको ४४ वर्षको उमेरमा २०७७ जेठ २५ गते देहान्त भएको थियो । 
केसी  बालबालिकालाई माया गर्ने ‘त्यसैले उहाँको स्मृतिमा चेस प्रतियोगिता आयोजना गर्न लागिएको हो ।’ उनकी धर्मपत्नी वन्दना खड्काले भनिन् ।