धरान : कोशीको पानी धरान ल्याउने एजेण्डा उठाएर चुनाव जितेको धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङ त्यही योजना लिएर आएका सङ्घीय सरकारका खानेपानी मन्त्री प्रदीप यादव धरान आउँदा सम्पर्क नै नगरी बेपत्ता भए ।
धरानको खानेपानी समस्या समाधान गर्न नगर प्रमुख साम्पाङले नै कोसीको पानी धरान ल्याउन सङ्घीय सरकारसँग माग गरेका थिए । सरकारले धरानवासीको लागि ६ अर्बको उक्त आयोजनाको टेन्डर आव्हान गर्न लागेको छ ।
साउन २५ देखि भदौ ७ गते भित्र टेन्डर खुलेन भने आयोजना फर्केर जान सक्छ । त्यसबारे उपमहानगरपालिकामा छलफलका लागि आएका मन्त्री यादवलाई भेट नगरी नगर प्रमुख साम्पाङ बेपत्ता भएका हुन ।
नगर प्रमुख साम्पाङ बेपत्ता भएपछि सुनसरी उद्योग वाणिज्य सङ्घमा आज शुक्रवार आयोजित धरानको सर्वपक्षीय नागरिक समाजसँगको छलफल कार्यक्रममा खानेपानी मन्त्री यादवले भने ‘धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङलाई नमस्कार गर्दै किस्तीमा पैसा बोकेर पैसा लिनुस्, भनेर खोज्दै धरान आइपुग्दा समेत इन्कार गरेका छन् ।’
मन्त्री यादवका अनुसार नगर प्रमुख साम्पाङलाई आफैले पटक पटक फोन गर्दा, म्यासेज गर्दा फोन नउठाएको र म्यासेजको कुनै जवाफ दिएनन् । उनले भने ‘मैले मात्र होइन मन्त्रालयका महानिर्देशक, आयोजना निर्देशक र कर्मचारीले समेत फोन गरे तर मेयर सावले फोन उठाएनन् ।’
मन्त्री यादव खानेपानी मन्त्रालयका महानिर्देशक र आयोजना प्रमुख सहित शुक्रवार खानेपानी परियोजनाकालागी धरान आएका थिए । तर नगर प्रमुख साम्पाङ बेपत्ता भएपछि उद्योग वाणिज्य सङ्घको समन्वयमा सङ्घको सभा हलमा छलफल भएको हो ।
मन्त्री यादवले मेयर साम्पाङलाई सन्देश दिँदै भने ‘फोन त उठाईदिनुस मेयर साव, छलफल संवाद भएन भने कसरी प्रोजेक्ट सञ्चालन हुन्छ ?’ उनका अनुसार आयोजना साउन २५ गते देखि भदौ ७ गते भित्र ठेक्का प्रक्रियाको टेन्डर प्रक्रिया अगाडी बढे मात्र आयोजना सुरु हुन्छ ।
मन्त्री यादवले भने ‘रित्तो गाग्रीमा देखाएर र रित्तो गाग्रीमा पानी हालेर धराने जनताको समस्या समाधान हुँदैन त्यसका लागि बजेट लगाउनु पर्छ, भनेर मेयर सावलाई भने अनुसार बजेट लिएर आएको छु, तर तपाई दिँदा पनि लिनु तयार हुनुहुन्न ।’
आफू थालीमा पैसा लिएर आएको बताउँदै उनले भने ‘खोजी खोजी पैसा दिनका मन्त्री आएको छ तर तपाई छलफल संवाद गर्नबाट भागी रहनुभएको छ ।’ मन्त्री यादवले छलफल संवादबाट मात्र निकास निस्कन्छ नगर प्रमुख साम्पाङले फोन नउठाई भागेर नहुने बताए ।
नगर प्रमुख आफै रित्तो गाग्री लिएर सिंहदरबार गएको बताउँदै त्यही रित्तो गाग्रीलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली तथा सरकारले बजेट विनियोजन गरेका यादवले बताए । धराने जनतालाई खानेपानीको समस्याबाट मुक्त गर्नु नेपाल सरकारको समेत दायित्व भएकाले आयोजना सञ्चालनको लागि धरान आएको स्पष्ट गर्दै मन्त्री यादवले भने ‘सरकारको दायित्व र कर्तव्य भएकाले नगर प्रमुखलाई नमस्कार गर्दै आएको हुँ कमजोरी नसोच्नुस् ।’
मन्त्री यादवका अनुसार कोशीबाट धरान खानेपानी ल्याउने आयोजना ६ अर्बको हो । ८५ प्रतिशत नेपाल सरकार र १५ प्रतिशत धरान उपमहानगरपालिकाले सह-लगानी गर्नु पर्ने मात्र हो । नगरपालिकाले लगानी गर्ने १५ प्रतिशतको पनि व्याज पनि तिर्नु पर्दैन ।
मन्त्री यादवले भने ‘धरानले अनुदान पाएको बजेट हो ऋण होइन, मेयर सावले ऋण सम्झनु भएछ, पहिला स्पष्ट बुझ्नु भएको भए राम्रो हुन्थ्यो ।’ ऋण नेपाल सरकारको दायित्व भित्र हुने कुरा हो, धरानले तिर्नु नपर्ने उनले स्पष्ट गरे ।
१५ प्रतिशतको सह-लगानी मात्र पनि धरानले गर्न सक्दैन त्यो पनि अनुदान दिनुस् भन्न खोजिएको हो भने नेपाल सरकारले मनन गर्न तयार भएको मन्त्री यादवले बताए । सरकार धराने जनताको पानी खुवाउने अधिकार सुनिश्चित गर्न प्रतिबद्ध भएको बताउँदै मन्त्री यादवले भने ‘एक पटक प्लिज सम्झाई दिनुस् सरोकारवालाहरू सबैले, धरानको पानीको समस्या समाधान गरौँ ।’
सरकारको काम नै जनताको समस्या समाधान गर्ने भएको बताउँदै उनले भने ‘नगर प्रमुखले पनि आफूलाई सरकार नै भएको नसम्झिए यो प्रोजेक्ट खारेज हुन्छ ।’ उनले यो प्रोजेक्ट खारेज भए पनि अर्को प्रोजेक्ट ल्याएर भएपनि धरानको खानेपानी समस्या हल गर्ने प्रतिबद्धता प्रकट गरे ।
नगरप्रमुख साम्पाङले नै पत्र पठाएपछि मन्त्रालयले आयोजना सञ्चालन गर्नका लागि डिपिआर गरी ४ करोड ८४ लाख लिटरको ट्याङ्की निर्माण गर्न चतरामा रहेको गुठीको जग्गाको स्वामित्व माग गर्दै अनुमति दिन असार १७ गते पत्राचार गर्यो तर नगरप्रमुखले असार १९ गते ऋण नलिने भन्दै पत्र पठाएका थिए ।
प्रोजेक्ट खारेज भए नगर प्रमुखले जिम्मा लिनुपर्छ : उपप्रमुख बेघा
धरान उपमहानगरपालिका उपप्रमुख अईन्द्र विक्रम बेघाले धराने जनताको खानेपानीको आवश्यकताको निम्ति कसैले राजनीति गर्न नहुने बताउँदै भने ‘खानेपानीको समस्या देखाएर राजनीति गर्ने होइन । जसको पहलमा बजेट आए पनि स्वीकार गर्न सक्नु पर्दछ, कसैको इगोले प्रोजेक्ट खारेज भए जनता प्रतिकारमा उत्रनु सक्नु पर्दछ ।’
हठले धरान बन्दैन । कसैले इगोले धरानको आयोजना विफल पार्ने सपना देख्छ भने त्यो सपनालाई जनताले प्रतिकार गर्ने उपप्रमुखले बताए । जनप्रतिनिधि जनताको आवश्यकतालाई समाधान र व्यवस्थापन गर्न आएको हो । धरानको विकास गर्न आएको हो । सबै साँचो नगरप्रमुखको हातमा छ । उनले साँचो नफुकाए आयोजना सफल नहुने उनले बताए ।
उपप्रमुख बेघाले भने ‘आयोजना फर्केर गयो भने साँचो नखोल्ने मान्छेले त्यसको जिम्मा लिनु पर्दछ ।’ उनले जनताको आवश्यकता परिपूर्ति र समाधान गर्न सहजीकरण गर्न नगर प्रमुखलाई आग्रह गर्दै कसैले हलो अड्काउने काम गर्न नहुने बताए ।
एक्लै संसार हाँक्नु खोजेर नहुने बताउँदै कार्यपालिकाबाट पास भएर गएको आयोजना भएकोले पटक पटक प्राविधिक रूपमा आयोजना नआउने कुरालाई नगर प्रमुखले एकल हठ त्याग्नु पर्ने उनको भनाई छ । उनले भने ‘साँचो खोल्नुस् मेयर साब यो तपाईँको कोशीबाट पानी ल्याउने आयोजना हो ।’
छलफलमा खानेपानी मन्त्रालयका खानेपानी विभाग महानिर्देशक रामकुमार श्रेष्ठ, एकीकृत खानेपानी आयोजना निर्देशक सुरत बम, उपनिर्देशक महेश न्यौपाने, खानेपानी कार्यालय विराटनगर प्रमुख सुरतलाल चौधरी, सहरी खानेपानी योजना इटहरी उपनिर्देशक महेशी महतो, उपमहानगरपालिका प्रमुख प्रशासकीय प्रमुख अम्बिका प्रसाद चौलगाई, उद्योग वाणिज्य सङ्घ सुनसरी नवनिर्वाचित अध्यक्ष गोपाल श्रेष्ठ लगायत वडा अध्यक्षहरू र कार्यपालिका सदस्यहरूको उपस्थित थिए । अध्यक्षता सङ्घका अध्यक्ष विजय श्रेष्ठले गरेका थिए ।