धरान : बोलबम धार्मिक मेलामा श्रद्धालुहरूको भिडमा गलत मनसायबाट हुनसक्ने असुरक्षा, सम्भावित हुलदंंगाको नियन्त्रणका लागि पिण्डेश्वर मन्दिर भित्री एरियामा सिसि क्यामरा जडान गरिएको छ ।
साँझ बिहानको समयमा श्रद्धालुहरूको अत्याधिक भिडका बिच हुनसक्ने कुनै पनि असुरक्षाका कुरालाई बेलैमा नियन्त्रण गर्नका लागि सिसि क्यामरा जडान गरिएको हो । बोलबम बाबा धाम समितिको कार्यालयमा रहेको मनिटर मन्दिर भित्र र मन्दिर छेउछाउका गतिविधि सबै देखिने छ ।
पिण्डेश्वर बाबा धाम समितिका अध्यक्ष विकास बनेपालीले भने ‘भित्रको भिडमा सुरक्षाकर्मीले पनि सबै कुरा देख्दैनन्, मनिटरमा देखिने स्थितिले सुव्यवस्था गर्न साक्षरकर्मी, स्वयम् सेवकहरूलाई सजिलो हुनेछ ।’ यसबाट भिडमा शारीरिक रूपमा कमजोर श्रद्धालु, महिलाहरूलाई सहज बनाउन पनि सकिने उनको भनाई छ ।
यसपालि बोलबममा आउने श्रद्धालुहरूका लागि मोबाइल, गरगहना सहितका बहुमूल्य बस्तु भिडमा बस्न अगावै लकरमा राख्ने सुविधा पनि समितिले उपलब्ध गराएको छ । अध्यक्ष बनेपालीले भने ‘हिजोआज सबैका साथमा मोबाइल हुने गर्छ, भिडभाडमा चोरी हुने, हराउने जोखिम हुन्छ, इच्छुक श्रद्धालुहरूले दर्शन गर्न जान अगावै लकरमा त्यस्ता वस्तु राख्ने सुविधा पनि छ ।’
बाबा धाम समितिको कार्यालयमा रहेको काठको ३० वाट चाबी आफैले राख्न चाहे राख्न सकिने लकर सुविधा उपलब्ध रहेको उनले बताए । एउटा लकरमा एक जना भन्दा बढीले संयुक्त रूपमा बहुमूल्य सामाग्री राख्न सक्ने उनको भनाई छ ।
आज साउन महिनाको पहिलो सोमबार पूर्वको पवित्र तीर्थस्थल पिण्डेश्वर बाबाधाममा भक्तजनहरूको घुइँचो लागेको छ । सदाका बर्सझैँ यस वर्ष बोलबम सुरु भएसँगै पिण्डेश्वर धाममा श्रद्धालु भक्तजनहरूको भिडभाड बढेको हो ।
अध्यक्ष बनेपालीका अनुसार भिड नियन्त्रण गर्न रातको १२ बजेदेखि मन्दिर खुला गरिएको हो । तर पनि मन्दिरमा श्रद्धालु भक्रजनहरुको घुइँचो छ । आइतबार साँझ पिण्डेश्वर पुगेका भक्तजन रातभर भक्ति सङ्गीत एवं भजन कीर्तन गरी बसेका थिए । 
राति १२ बजेपछि स्नान एवं जल सङ्कल्प गरी खाली गोडा करिब २०किमी पैदल यात्रा गरेर पिण्डेश्वर  मन्दिरसम्म आएका थिए । शिव भगवानको प्रमुख तथा प्रसिद्ध धार्मिक तीर्थस्थल पिण्डेश्वर मन्दिरमा सदियौँदेखि सप्तकोशी नदीको जल ल्याई बेलपत्रसहित जल चढाउनले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ ।
पिण्डेश्वर बाबा धाम मन्दिरमा जल चढाउन भक्तजनहरूले आइतबार नै चतरा, वराहक्षेत्रस्थित सप्तकोशी नदीबाट जल ल्याएर भक्तजनहरू बिहानैबाट पिण्डेश्वर मन्दिरमा लाइनबद्ध भएर पालो पर्खिरहेको अध्यक्ष बनेपालीले बताए ।
यस वर्ष साउन महिनाको पहिलो सोमबारका दिनभरिमा करिब ५० हजार भक्तजनहरूले जल चढाउन धरान सहित देशका विभिन्न जिल्लाबाट भक्तजनहरू पूजाआजा गर्न आउने पिण्डेश्वर बाबा धाम समितिको अनुमान छ । 
पिण्डेश्वर मन्दिरको दर्शन गर्न आउने भक्तजनलाई लक्षित गरेर मन्दिर क्षेत्रमा पिण्डेश्वर बाबा धाम समितिले सहज पूजाआजाको व्यवस्थापन मिलाएको जनाएको छ । खास गरी साउन महिना र सोमबारको दिनलाई भगवान् शिवको प्रिय महिना र दिनका रूपमा मान्ने गरिन्छ ।
bolbom3bolbaombolbom-12