धरान : नेपाली जात्रा पर्वका सुरुआतमा आउने लाखे जात्रा धरानमा भोली मङ्गलवार देखी शुरु हुँदैछ ।
पछिल्लो समय जथाभाबी लाखे नाचको नाममा पैसा माग्ने विकृति बढेकाले लाखे जात्रालाई मर्यादित र व्यवस्थित बनाउन नेवा: देय दबूले कडा आचार संहिता जारी गरेको छ ।
संस्थामा दर्ता नभएको समूहले लाखे प्रदर्शन गर्न नपाउने संहिता अनुसार यसपाली धरानमा २३ वटा लाखे समूह दर्ता भएका छन् । नेवार जातिको प्रमुख संस्कृति पर्व लाखे जात्रा जथाभाबी निकालेर विकृति फैलाएको आइतबार दबुले विज्ञप्ति सहित आचार संहिता जारी गरेको हो ।
दबुव्दारा जारी विज्ञप्तिमा स्वीकृति विना लाखे निकाले नियन्त्रणमा लिइने जानकारी गराउँदै आधिकारिक जातीय संस्थाबाट स्वीकृति नलिई जथाभाबी लाखे नाच निकाल्ने प्रवृत्तिको अन्त्य गर्दे सांस्कृतिक पहिचान मर्यादित बनाउन नेवा: देय दबू धरानले कडाइ गरेको जनाएको छ ।
विज्ञप्तिमा अध्यक्ष मनोहर शाक्य, सचिव लीला बहादुर प्रधान र सांस्कृतिक संयोजक विनीता बज्राचार्यले हस्ताक्षर गरेका छन् । विज्ञप्तिमा ९ बुँदे आचार संहिता उल्लेख छ । स्वीकृत बिना निकाल्ने लाखे समूहको ढोल, झ्याम्टा लगायत सामग्री नियन्त्रणमा लिइने जनाइएको छ । 
लाखे नाच समूह वा संस्थाहरूले परिचय खुल्ने ब्यानर वा परिचयपत्र, टिसर्ट लगाउनु पर्ने, धरान भित्र रहेका घर वा व्यापार व्यवसाय क्षेत्रमा आर्थिक सङ्कलन गर्न नपाइने तर स्वेच्छाले प्रदान गर्ने आर्थिक सहयोग ग्रहण गर्न सकिने आचार संहितामा उल्लेख छ । 
धरान बाहिर जाने वा धरानमा आमन्त्रित लाखे समूहको उद्देश्य सहित लिखित जानकारी प्राप्त हुनुपर्ने,मदिरा पान वा मादक पदार्थ वा लागू पदार्थ सेवन गर्न नपाइने आचार संहितामा उल्लेख छ ।
लाखे नाच संस्कार सँग प्रत्यक्ष सरोकार राख्ने समुदाय बाहेक अन्य समुदायले लाखे नाच गराउन नपाउने, उमेर नपुगेका बालबालिकाहरूलाई लाखे नाच समूहमा हिँडाउन नपाइने नियम बनाइएको छ ।