धरान : धरान खेलकुद मञ्चद्वारा आज शनिवार आयोजित धरान स्पोर्टस् अवार्ड समारोहमा ७ विधाका ९ जना उत्कृष्ट खेलाडीहरूलाई नगद १५ हजार राशि सहित धरान स्पोर्टस् अवार्ड प्रदान गरिएको छ ।

अवार्ड विजेताहरूमा कराँतेबाट साहिल राई, महिलातर्फ वर्षा राई छन् । गल्फबाट नीरज राई, शारीरिक सुगठनबाट अवतार श्रेष्ठ, टेबल टेनिसबाट विवेक राई, महिलातर्फ सुलेखाकुमारी ठाकुर छन् । साइक्लिङबाट दिपसागर तामाङ, ब्याडमिन्टनबाट अनमोल राई र फुटबलबाट मनोज राई छन् ।

यसैगरी ३ जना नगद ३० हजार सहित उत्कृष्ट प्रशिक्षक अवार्डबाट सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा कराँते प्रशिक्षक किरण लामा, टेबल टेनिस प्रशिक्षक गीता थापा र साइक्लिङ प्रशिक्षक श्याम तामाङ छन् ।

समारोहमा सितेरियो कराँते राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रशिक्षक रही लामो समय योगदान गर्दै आएका दीपेश शाक्य मुकेश नगद १५ हजार सहित दिर्घसेवा अवार्डबाट सम्मानित भएका छन् । फरक क्षमता भएका खेलाडी विवेक राईलाई नगद १५ हजार सहित स्वर्गीय विक्रम राई स्मृति अवार्डबाट पुरस्कृत गरिएको छ ।

मञ्चले पत्रकारिता क्षेत्रबाट खेलकुदमा योगदान पुर्याउदै आएका पत्रकार भोजराज श्रेष्ठलाई नगद १५ हजार सहित उत्कृष्ट वर्ष पत्रकार अवार्ड प्रदान गरेको छ ।

धरान खेलकुद मञ्चले दोस्रो पटक अवार्ड वितरण समारोह आयोजना गरेको हो । खेलकुद क्षेत्रमा धरानबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी भई पदक हासिल गरेका १४ जना उत्कृष्ट खेलाडीहरू अवार्डको लागि मनोनयनमा परेका थिए । त्यसमध्ये ९ जनालाई अवार्ड प्रदान गरिएको हो ।

समारोहमा प्रमुख अतिथि कोशी प्रदेश सभाका सदस्य विजयकुमार राईले धरान खेलकुदको सहर भनिएतापनि खेलकुदको विकास र पूर्वाधारको क्षेत्रमा तिनै तहको सरकारले आर्थिक लगानी नगरेको बताए । उनले भने ‘कमसेकम स्थानीय सरकारले कुल बजेटको ३ देखी ४ प्रतिशत रकम धरानको खेलकुदको विकासको लागि विनियोजन गर्न जरुरी छ ।’

प्रदेश सभा सदस्य रमेश बस्नेतले खेलकुद मञ्चले राष्ट्रिय अन्तर्राष्ट्रिय खेलमा धरानको प्रतिष्ठा उच्च बनाएका खेलाडीहरूलाई प्रोत्साहित गर्न गर्दै आएको सम्मान उदाहरणीय भएको बताए ।

नेपाली काँग्रेस धरान नगर सभापति श्याम पोखरेलले खेलकुद देखी विकासमा जनसहभागिताको मोडल बनेको धरान अहिले सामाजिक सञ्जालमा गालीगलौज गर्नेहरूको सहरको रूपमा बदनाम भइरहेको बताए । स्थानीय सरकारले गर्नुपर्ने खेलाडीहरूको सम्मान खेलकुद मञ्चले आयोजना गरेर उदाहरणीय कार्य गरेकोमा उनले प्रशंसा गरे ।

समारोहको सभापतित्व मञ्चका अध्यक्ष किशोर राईले गरेका थिए । उनले धरान खेलकुदको सहर मात्र होइन यहाँ खेलकुदमा राष्ट्रिय कीर्तिमान कायम गरेका खेलाडीहरू पनि छन् भनेर उनीहरूको उचित सम्मान र पहिचान दिने कार्य नभएको बताउँदै भने ‘त्यसैले नयाँ पुस्ताका खेलाडीलाई प्रोत्साहन पुराना खेलाडीको सम्मान गर्ने नयाँ परम्परा खेलकुद मञ्चले सुरु गरेको हो ।’

समारोहको सञ्चालन युवराज अधिकारी समापन मञ्चका सचिव विक्रम लिम्बुले गरेका थिए ।

sPORTS-AWARD-DHARAN