धरान : धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले अहिले चर्चामा रहेको ६ अर्बको कोशी प्रोजेक्ट सरकारको बजेट पुस्तिका रेड बुकमा समावेश भएर आउँछ भने लिन तयार भएको बताएका छन् ।
धरानका राजनैतिक दल सहित ९ दलहरूले आज बिहीबार प्रमुख साम्पाङ लाई धरानको समसामयिक विषयमा संयुक्त ज्ञापन पत्र बुझाएपछि भएको छलफलमा उनले भने ‘रेड बुकमा समावेश गराएर बजेट आउँछ भने लिन तयार छु ।’
धरानलाई जिस्काएर कहिले २० लाख कहिले ४ करोड दिएर हुँदैन । रेड बुकमा राखेर बकाईदा बजेट विनियोजन भएर आउनुपर्ने प्रमुख हर्क साम्पाङले बताए । नत्र नलिने, यो सरकारले रेड बुकमा राखेर दिएको बजेट नभएको उनको भनाई थियो ।
प्रमुख साम्पाङले भने ‘योजनामा नगरप्रमुखले सम्झौता, सहमति गर्ने होला, नगर प्रमुखले कार्यान्वयन नगरिन्जेल अरू कुर्लिएर हुँदैन होला ।’ कोशीबाट पानी ल्याउनु पर्छ भन्ने मेरो योजना हो । त्यो योजना हो जसरी पनि ल्याउँछु भन्ने उनको भनाई छ ।
उनले भने ‘धरानेलाई म ऋणको भारी बोकाउन कदापि चाहँदिन, अनुदान भने पनि नेपाली जनताको लागि ऋण हो देशलाई ऋण बोकाउन चाहन्न । धरानलाई एडिबीको ऋण स्वकार्य छैन । पहिलाको ऋण नै तिरेको छैन अब झन् ऋण स्वकार्य नभएको उनले बताए ।
धरान नगर अस्पताल
प्रमुख साम्पाङले धरान अस्पतालको जग्गा कस्ले हस्तान्तरण गरेको हो उसले जिम्मा लिनु पर्ने बताए । बिपीले धरान अस्पताललाई तुरुन्त जग्गा फिर्ता दिनुपर्ने बताउँदै उनले भने ‘उपमहानगरपालिकाले पुरानो हस्पिटलमै नगर अस्पताल बनाउँछ, ढुक्क हुनुस् चाडै बन्छ ।’
उपप्रमुख बेघाको भनाई
उपप्रमुख अईन्द्र विक्रम बेघाले भने ‘६ अर्वको बजेट धरानले लिनु सक्नु पर्छ लिनुपर्छ र यसको नेतृत्व नगरप्रमुखले लिनुपर्छ ।’ कार्यपालिकाको निर्णय लिएर नगरप्रमुख अगाडी बढ्नुपर्ने उनले बताए । नगरले तिर्नुपर्ने १५ प्रतिशत ऋणलाई नगर प्रमुख साम्पाङले सरकारसँग समन्वय गरेर शून्यमा झार्नु सक्नुपर्ने उनको भनाई थियो ।
नगर अस्पताल सञ्चालन गर्नु पर्छ दुई मत छैन तर नगरप्रमुखले कार्यपालिकाबाट निर्णय गरेर बिपी र स्वास्थ्य मन्त्रालयसँग समन्वय गर्नुपर्ने उपप्रमुख बेघाले बताए ।
दलहरूले चित्त बुझाएनन्
राजनैतिक दलहरूले उचित र चित्त बुझ्दो जवाफ नआएको भन्दै नगरप्रमुखको तर्फबाट सरकारसँग छलफल समन्वय गर्नु पर्ने आग्रह गरे । दलहरूले आग्रह राख्दा प्रमुख साम्पाङले ऋण लिन चाहँदिन भन्दै सम्वाद गर्न चाहेका चाहेनन् ।
नगर प्रमुख साम्पाङले वार्ता संवादबाट योजनाको बारेमा निष्कर्ष निकाल्न नचाहेपछि दलहरू बिना निष्कर्ष ज्ञापन पत्र बुझाएर फर्किएका छन् ।
ज्ञापन पत्रमा के छ ?
९ राजनैतिक दलहरूले पत्रमा नेपाल सरकार स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमाको प्रथम सेवा केन्द्रको रूपमा बिपी प्रतिष्ठानलाई हटाएकोले सर्वदलीय पहलमा असोज सम्मका लागि धरानको प्रथम सेवा विन्दुको रूपमा बिपी प्रतिष्ठान नै तोकिएको अवगत गराएको छ ।
असोज पछि प्रथम सेवा विन्दु कुन हुने भन्ने विषयमा अन्यौलता रहेकोले धरान उपमहानगरपालिकाले आवश्यक परामर्श गरेर प्रथम सेवा विन्दु कहाँ रहने भन्ने विषयमा निर्णय गर्नु पर्ने आग्रह गरिएको छ ।
त्यसो हुन नसके स्वास्थ्य बिमा बोर्डबाट प्रथम सेवा केन्द्र तोक्न पटक पटक उपमहानगरपालिकालाई पत्राचार गरेको भन्ने सुन्नमा आएकाले उक्त विषय के हो भन्ने यथार्थ जानकारी धरानवासीलाई उपमहानगरपालिकाले नदिएको ज्ञापन पत्रमा उल्लेख छ ।
त्यसैको समाधान गर्न नगरपालिकाले नेतृत्वदायी भूमिका निर्वाह गरोस् भन्ने अपेक्षा सहित उपमहानगरपालिकाले सहयोग माग गरेको खण्डमा समन्वय र सहकार्य गर्न तयार रहेको जानकारी गराइएको छ ।
बिपी प्रतिष्ठानलाई नै प्रथम सेवा विन्दुको रूपमा कायम गर्न संस्थागत पहल गर्नु पर्ने, वैकल्पिक प्रथम सेवा विन्दु धरान उपमहानगरपालिकाले असोज मसान्त भित्र सञ्चालन गराउन स्वास्थ्य केन्द्र तयार गर्न आग्रह गरिएको छ ।
स्वामित्व प्राप्त नभए सम्मका लागि पुरानो धरान अस्पताललाई बिपी प्रतिष्ठानसँग सहकार्य गरी विशेषज्ञ सहितको सेवा सञ्चालन गर्न संस्थागत पहल गर्नु पर्नेमा जोड दिदैं प्रतिष्ठानको स्वामित्वमा रहेको पुरानो अस्पतालको जमिनलाई उपमहानगरपालिको मातहत ल्याई नगर अस्पताल सञ्चालन गर्न दलहरूले ध्यानाकर्षण गराएको छ ।
सहभागी दलहरू
संयुक्त ज्ञापन पत्रमा धरानका प्रमुखहरू सहित ९ राजनैतिक दलहरूमा नेपाली काँग्रेसका सभापति श्याम पोखरेल एमाले अध्यक्ष हर्क जङ एभेङ, माओवादी केन्द्र अध्यक्ष उद्धव लिम्बु, रास्वपा उपसभापति राम कार्की, जसपा नेपाल अध्यक्ष ताजुब लिम्बु, राष्ट्रिय प्रजातन्त्र पार्टी संयोजक नरेशकुमार शाक्य, नेकपा एस सहसचिव रिकेश विश्वकर्मा, जसपा धरान अध्यक्ष नगेन्द्र पारघरी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च धरान अध्यक्ष मोहन तिगेलाले हस्ताक्षर गरेका छन् ।