इटहरी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो अधिवेशन सम्पन्न गर्न नपाउँदै आन्तरिक समस्यामा जेलिएको छ । टोल देखि केन्द्रीय समिति सम्म नै रास्वपा विवादमा पर्दै गएको हो । केन्द्रीय अध्यक्ष तथा संसदीय दलका नेता रबी लामिछाने कारागारमा रहेपनि संसदीय दलको नेता परिवर्तन भएको छैन । यसबिचमा केन्द्रीय महामन्त्री मुकुल ढकाल देखि कोशी प्रदेश अध्यक्ष र प्रवक्ता समेत कारबाहीमा परिसकेका छन् ।
ढकाललाई सभापति लामिछानेको आलोचना गरेको भन्दै पार्टीले निष्कासित गरेको हो । कोशी प्रदेश अध्यक्ष राजेश तिम्सिना र प्रवक्ता कमलबाबु मैनालीको सदस्यता खारेज भएको छ । मैनाली र तिम्सिनाले यसअघि प्रदेश महामन्त्री लालविक्रम थापालाई निलम्बन गरेका थिए । पछि थापाले केन्द्रीय नेतृत्वको बलमा दुई नेतामाथि पार्टीको सम्पूर्ण ढोका बन्द गरिदिएका हुन् । थापा र मैनाली दुवै इटहरीबाट प्रतिनिधित्व गर्छन् ।
थापाले मैनालीलाई पार्टीबाट पन्छाएपछि उनको विपक्षमा हुने वडा देखि जिल्ला सम्मका नेतालाई कारबाही गरिरहेका छन् । केन्द्रीय नेतृत्वको भरपर्दो नेता थापाले त्यही बलमा स्थानीय नेतालाई कारबाही गर्ने र नेतृत्वमा पुर्याउने गरेका हुन् ।
इटहरीमा चुलियो विवाद
इटहरी नगर उपसभापति हरिमाया अधिकारी दोहोरो नागरिकता प्रकरणमा मुछिएर केही समय निलम्बनमा परिन् । अधिकारी निलम्बनका परेपछि रास्वपामा विवाद बढेको हो । पछि २०८१ वैशाखमा विष्णु बस्नेत इटहरी नगर सभापति नियुक्त भए । उनले २०८१ मङ्सिरमा नगर भेला मार्फत सात सदस्यीय समिति गठन गरे ।
जस अनुसार बस्नेतले इन्दिरा लुइँटेललाई उपसभापति चयन गरे । पछि हरिमाया अधिकारीको निलम्बन फुकुवा भएपछि थापाले पुरानै पदमा पुनर्बहाली गर्न दबाब दिए । बस्नेतले विधान र नियमले नमिल्ने भन्दे अटेर गरे । केही समय उपसभापति लुइँटेललाई कार्यवाहक दिएर बस्नेत बाहिर गए । त्यही समयमा कार्यसमिति सचिव महेश थापा (पुष्पराज)ले नगर समितिको बैठक डाक्न लगाएर कार्यवाहक उपसभापति इन्दिरा लुइँटेललाई पदबाट हटाउने निर्णय गराए । लालविक्रम थापाकै निर्देशनमा महेश थापाले हरिमाया अधिकारीलाई पुनः उपसभापति चयन गरे ।
आफैले अध्यक्षता गरेको बैठकबाट लुइँटेल कारबाहीमा परिन् भने अधिकारीले कार्यवाहकको जिम्मेवारी पाइन् । जुन राजनीतिक वृत्तमा बिरलै देखिने घटना हो । त्यस्तै अर्को घटना महेश थापाले घटाएका छन् । उनले आफू अधिवेशनबाट अध्यक्ष भएको जानकारी आफै हस्ताक्षर गरेर विज्ञप्ति निकालेका हुन् ।
बस्नेतले अधिकारी कारबाहीमा परेको र नैतिकता विपरीतको काम गरेको बारे जानकारी गराए पनि बेवास्ता भएको बताए । सचिव थापाले महामन्त्री थापाको निर्देशनमा नगर सभापतिलाई जानकारी नगराई १ र ३ नम्बर वडामा अधिवेशन गराए । बस्नेतले पार्टीको विधान र कार्यविधि प्रतिकूल काम गरेको भन्दै सचिवको कार्य विभाजन हेरफेर गरिदिए । प्रतिफल स्वरूप महामन्त्री थापाले केन्द्रीय अनुशासन आयोगमा कारबाहीको सिफारिस गरे । अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालले पनि बस्नेतलाई निलम्बनको पत्र पठाएका हुन् ।
बस्नेतको सभापतित्वमा हुनुपर्ने अधिवेशन कारबाहीमा परेको भन्दै आयोजक समितिको संयोजक महेश थापाको अध्यक्षतामा सम्पन्न भयो । साउन १० गते बोलाइएको नगर अधिवेशन बस्नेतले अन्तरिम आदेशको माग गर्दै उच्च अदालतमा रिट दायर गरेपछि केही दिन पर सरेको थियो । १७ गते सम्पन्न अधिवेशनले महामन्त्री थापा निकट महेश थापा सभापति चयन भएका छन् । हालसम्म १५ वडाका अधिवेशन सम्पन्न भएको बताएका थापाले ६, ९, १४, १५ र ७ नम्बर वडाको अधिवेशन बाकी छ ।
वडा देखि नगरसम्म विवाद रहेको रास्वपामा सुनसरी जिल्ला समिति पनि विवादबाट बाहिर छैन । प्रदेश महामन्त्री थापाको आग्रहमा निलम्बनमा परेका जिल्ला सभापति जीवनकुमार श्रेष्ठले समेत राजीनामा दिएका छन् । सभापतिले राजीनामा दिएपछि कोषाध्यक्ष देवराज अधिकारीले समेत राजीनामा दिए । प्रदेश महामन्त्री थापालाई लक्षित गर्दै कोशी प्रदेशमा गुटबन्दी र अनुशासनहीनता बढेको भन्दै राजीनामा दिएको बताएका छन् ।