धरान : सामाजिक सञ्जाल तथा युट्युबको बढ्दो प्रयोगले सूचना तथा सञ्चार क्षेत्रमा विकृति पनि बढेकोले सञ्चार क्षेत्रलाई मर्यादित र व्यवस्थित गर्न पर्यटकियस्थल भेडेटारको गाउँपालिका साँगुरी गढीले सञ्चार ऐन बनाउने भएको छ ।
यसबाट गाउँपालिका पर्यटन, कृषि र सांस्कृतिक पक्षको यथार्थ कुरा सञ्चार माध्यममा ल्याउन प्रोत्साहित गरिने अध्यक्ष जीतेन्द्र रुम्दालीले बताएका छन् ।
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिजको २६ औँ स्थापना दिवस समारोहमा प्रमुख अतिथि रुम्दाली आज मङ्गलवार भने ‘स्वतन्त्र र निष्पक्ष सञ्चारलाई प्रोत्साहन गर्न हामी सञ्चार ऐन बनाउँदै छौँ ।’
सञ्चार प्रविधिको विकासले अब जहाँबाट पनि अनलाइन सञ्चार माध्यम सञ्चालन गर्न सहज भएकोले स्वास्थ्य पत्रकारिताको विकासको लागि गाउँपालिकाले सञ्चार ऐन बनाउन लागेको उनले बताए । अध्यक्ष रुम्दालीले भने ‘सञ्चार ऐन ग्रामीण पर्यटन, कृषि उत्पादन र सामाजिक जीवनमा आधारित सकारात्मक पक्षलाई उजागर र नकारात्मक पक्षको आलोचना गर्न प्रोत्साहित ल्याउन लागिएको हो ।’
समारोहमा रुम्दालीले प्रदेश पहिचान पत्रकारिता पुरस्कार भोजपुरकी शारदा तामाङ र दमकका दिलकुमार लावतीलाई प्रदान गरे । नगद १०/१० हजार सहित दोसल्ला ओढाएर उपुरस्कृतव्दयलाई सम्मान पत्र प्रदान गरिएको हो ।
फोनिज केन्द्रीय उपाध्यक्ष अर्जुन जुम्लेली राईले फोनिज आदिवासी जनजाति पत्रकारहरूलाई संस्थागत रूपमा दक्ष बनाउने अभियानमा लागेको बताए ।
पहिचानको सवाललाई मूलधारका मिडियाले ओझेलमा पादै आएकोले आदिवासी जनजाति पत्रकार पहिचानको मुद्दामा केन्द्रित हुनुपर्ने बताए ।
पत्रकार महासङ्घका पूर्व केन्द्रीय उपाध्यक्ष हर्ष सुब्बाले पछिल्लो मिडियाको विश्वसनीयता माथि प्रश्न उठिरहेको, सामाजिक सञ्चार, युट्युबको प्रभाव बढेको बेला पहिचानका सवाललाई सिर्जनात्मक पत्रकारिताको माध्यमबाट उठाउने दक्ष बनाउन फोनिजले तालिमहरू सञ्चालन गर्न सुझाव दिए ।
अर्का पूर्व केन्द्रीय उपाध्यक्ष सञ्जय सन्तोषी राईले पहिचानवादी पत्रकारहरूले समाचारमा कोशी प्रदेश लेखेकोमा आक्रोश पोखे । अर्का पूर्व केन्द्रीय उपाध्यक्ष कौशल चेम्जोङले फोनिज पत्रकार महासङ्घमा आदिवासी जनजाति पत्रकारको वर्चस्व स्थापित गर्न सङ्गठित भएको बताए ।
फोनिज प्रदेश १ अध्यक्ष विजय बोध लावतीको सभापतित्वमा भएको समारोहमा पूर्व अध्यक्ष सन्तवीर लामा, लिम्बु पत्रकार सङ्घ केन्द्रीय अध्यक्ष सन्देश सुब्बा, प्रेस सेन्टरका राजन समीप, समाजसेवी टेकबहादुर लिम्बु, बिनु चेम्जोङ लगायतले शुभकामना प्रकट गरेका थिए । सुप्रिया राईले स्वागत भाषण गरेकी थिइन् । कार्यक्रम एचके मेलोडी क्लबमा भएको थियो ।