इटहरी : इटहरी उपमहानगरपालिकाका मेयर हेम कर्ण पौडेल लगायत अन्य पालिकाका जनप्रतिनिधिको कार्यशैलीप्रति इङ्गित गर्दै सङ्घीय संसदमा आवाज उठेको छ ।
मेयर पौडेलले असार २० गते सामाजिक सञ्जालमा इटहरीको समग्र पत्रकारितामाथि बदनाम गराउने मनसायले दिएको अभिव्यक्ति प्रति लक्षित गर्दै सांसद भगवती चौधरीले टिप्पणी गरेकी हुन् । 
प्रश्न गर्ने र आलोचना गर्नेलाई प्रहरी लगाएर थुन्ने काम भएको उनको भनाइ छ । नेपाल पत्रकार महासङ्घले आन्दोलन मार्फत लोकतन्त्रको पक्षमा आवाज उठाइरहेको बेलामा एक्लो महसुस गरेको उनले बताएकी हुन् । मेयर पौडेलको नाम नलिई इटहरीमा भएका घटनाहरू उल्लेख गरेर शून्य समयमा उनले संसद् र सरकारको ध्यानाकर्षण गराइन् ।
गत असार २० गते मेयर पौडेलले ‘समाचार प्रकाशित हुनु अगाडि नै नगर प्रमुखको सचिवालयमा जानकारी हुने र दानापानी नआएपछि भोलिपल्ट लाज छोप्न प्रकाशन/प्रसारण हुने गरेको’ अभिव्यक्ति दिएका थिए । उनको सो अभिव्यक्तिले पत्रकारको मात्र हैन इटहरीकै बेइज्जत भएको महासङ्घले ठहर गरेको छ ।
यसअघि नम्बर २ कि ताजिना विष्टले टिकटकमा भिडियो पोस्ट गरेपछि प्रहरी कार्यालय पुगेर लिखित माफी मागेकी थिइन् । इटहरीका मेयर पौडेललाई बाटो किन बनेन भन्दै प्रश्न गरेकी उनलाई इलाका प्रहरी कार्यालय इटहरीले बोलाएर लिखित माफी मगाएको थियो ।
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले पनि पत्रकारमाथि आक्रामक अभिव्यक्ति दिने गरेका छन् । यसअघि खोज पत्रकारिता केन्द्रमा कार्यरत पत्रकार गोपाल दाहाललाई साम्पाङका उनका समर्थकले सामाजिक सञ्जालमा विभिन्न आरोप र धम्की दिएका थिए ।
अमेरिकी स्टेट डिपार्टमेन्टले सार्वजनिक गरेको रिपोर्टमा साम्पाङ र उनका समर्थकले दाहाललाई धम्की दिएको विषय समेटिएको छ ।