इटहरी : इटहरी उपमहानगरपालिकामा चालु आर्थिक वर्ष २०८२/०८३ का लागि २ अर्ब ५५ करोड २१ लाखको बजेट पारित भएको छ । उपमेयर सङ्गीताकुमारी चौधरीले पेश गरेको बजेट सर्वसम्मत रुपमा पारित भएको हो ।
चालु खर्चतर्फ १ अर्ब ४ करोड ११ लाख, वित्तीय व्यवस्थापन अन्तर्गत साँवा ब्याज भुक्तानीमा ९० लाख र पुँजीगत खर्च एक अर्ब ५० करोड १९ लाख विनियोजन गरिएको छ । असार मसान्तसम्म पारित गर्नुपर्ने संवैधानिक व्यवस्था विपरीत एक महिना ढिला गरी बजेट पारित भएको हो ।
साउन ३१ गते शनिवार सम्पन्न १६ औँ नगर सभाले नगरको गुरु योजना निर्माण गर्ने कार्यक्रम पारित गरेको छ । यस अगाडि कपुरी न्युजले गुरुयोजना बिना कस्तो बन्दैछ इटहरी शीर्षकमा समाचार प्रकाशित गरेको थियो । सर्वाङ्गीण विकासको लागी गुरु योजना अनुसारको कार्यक्रम तय गर्ने र विकासको ठोस नीति अवलम्बन गर्ने लक्ष्य लिइएको छ ।
पारित बजेटमा भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखिएको छ । सङ्घीय सरकार र प्रदेश सरकारसँग आवश्यक समन्वय गरी इटहरी उपमहानगरपालिकाको बाहिरी चक्रपथको सम्भाव्यता अध्ययन गरिने भएको छ । इटहरीलाई सुन्दर सहर बनाउन सौन्दर्यीकरणका लागि सडक निर्माणसँगै सडक क्षेत्राधिकार भित्र पर्ने आवश्यक स्थानमा रोड फर्निचर लगाइने भएको छ ।