धरान : सङ्घीय सरकारले संसदमा ल्याएको शिक्षा विधेयक निजी शिक्षा विरोध अवैज्ञानिक, अव्यवहारिक भएकोले सच्याउन माग गर्दै संस्थागत विद्यालयहरू सडक आन्दोलनमा उत्रिएका छन् ।
प्यावसन,एन प्यावसन तथा हिसान समेतको काठमाडौँ केन्द्रित आन्दोलन देशव्यापी हुन थालेको छ । शुक्रवार धरानका संस्थागत विद्यालय सञ्चालकहरूले स्कुल बसहरूको र्याली प्रदर्शन गरेका विधेयकको साङ्केतिक विरोध गरेका छन् ।
सरकारले विधेयकमा निजी स्कुलहरूलाई गैर नाफामूलक बनाउन पूर्ण छात्रवृत्ति कार्यक्रम, पोसाक, स्टेशनरी, शैक्षिक सामग्री, खाना–खाजा उपलब्ध गराउने प्रावधान ल्याएको छ । विधेयक संस्थागत शिक्षा पद्धति विरोधी भएको आन्दोलनरत पक्षको भनाई छ ।
धरानमा भएको विरोध प्रदर्शनका बिच प्यासन सुनसरीका सल्लाहकार नविन राईले भने ‘सरकारले ल्याएको शिक्षा विधेयकका केही प्रावधानहरूप्रति असहमति जनाउँदै निजी विद्यालय सञ्चालकका ३ वटा संस्थाहरू प्यावसन, एन प्यावसन र हिसान ५ बुँदे माग राखी सडक सङ्घर्षमा उत्रिएको छ ।’
धरान–१६ स्थित गणेशमान चोक देखि निस्किएको स्कुल बसको र्याली जिरो पोईन्ट हुँदै पुरानो बजार, माछा भौडी, भानु चोक हुँदै छाता चोक लक्ष्मी सडकमा गएर समापन भएको थियो ।
र्यालीमा निजी स्कुललाई ‘गैरनाफामूलक बनाउन पाइँदैन, कम्पनी मास्न पाइँदैन’, ‘पूर्ण छात्रवृत्ति लाद्न पाइँदैन, निजी विद्यालय मास्न पाइँदैन’, ‘निजी विद्यालयको योगदान, मजबुत अर्थतन्त्रको निर्माण’, ‘अभिभावकको पहिलो रोजाइ, निजी विद्यालयको पढाइ’ लगायतका नारा लगाइएको थियो ।
सल्लाहकार राईका अनुसार सरकारले शिक्षा विधेयकमा निजी स्कुलहरूको ढाँड सिक्ने गरी विधेयक ल्याउन खोजेकाले देशव्यापीरुपमा निजी स्कुलहरू सडकमा उत्रन बाध्य बनाएको छ ।
सरकारले निजी स्कुललाई विधेयकबाट पूर्ण छात्रवृत्ति शब्द हटाउनुपर्ने, पोसाक, स्टेशनरी, शैक्षिक सामग्री, खाना–खाजा उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने, गैर नाफामूलक बनाउँदै लगिने प्रावधान हटाइनु पर्ने निजी विद्यालय सञ्चालकहरूको माग रहेको उनले बताए ।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले निजी विद्यालय क्रमशः गैरनाफामूलक हुने र निजी विद्यालयले १० देखि १५ प्रतिशत पूर्ण छात्रवृत्ति दिनुपर्नेमा सहमति जुटाएको थियो ।
विधेयकलाई अन्तिमरूप दिन समितिमा छलफल चलिरहेको छ । तर निजी विद्यालयका सञ्चालकहरूले भने समितिले जुटाएका सहमतिमा विमति राख्दै आन्दोलनमा उत्रिएको हो ।