धरान : आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट तथा नीति कार्यक्रम पास गर्न धरान उपमहानगरपालिकाको आज बुधवार दिउँसो बसेको कार्यपालिका बैठक बजेटमा छलफलै नभई भदौ १३ गते बस्नेगरी स्थगित भएको छ ।

कानुन अनुसार असार १० गते भित्र नगरसभामा प्रस्तुत गरी पारित गर्नुपर्ने बजेट धरानमा भदौ दोस्रो साता लाग्दा सम्म टुङ्गो लाग्न सकेको छैन ।

बजेट तथा कार्यक्रम तर्जुमा विषयगत समितिको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले मस्यौदा गरेको बजेटमा नेकपा एमाले पक्षले असहमति जनाएको थियो । उनीहरूले कार्यपालिका बैठकमा बजेट टेबुल नै हुन नदिएकोले बैठक स्थगित भएको हो ।

एमालेका वडाध्यक्ष र कार्यपालिका सदस्यहरूको कारण छलफल नभएको बजेटमा एमाले भित्रै मतभेद रहेको आशङ्का गरिएको छ । उपमहानगरपालिकामा पार्टीको संसदीय दलका नेता धरान-१५ का वडाध्यक्ष नरेशकुमार इङवारम बैठकमा अनुपस्थित थिए । उनले कार्यवाहकको हैसियतमा समेत कसैलाई बैठकमा उपस्थित नगराएकोले एमाले वडाध्यक्षहरू बिच बजेटमा मतभेद रहेको आशङ्का गरिएको हो ।

एमालेले मुख्य रूपमा बजेटमा मेयर, उपमेयर भिजन कोषप्रति आपत्ति जनाउँदै आएको छ । सीमा निर्धारण समितिमा यसबारे विवाद भएपछि वडाध्यक्षहरूको निर्णयमा खर्च गर्ने छुट्टै कोषको व्यवस्था गरिएको छ । ढिलो भैसकेको बजेट टुङ्गो लगाउन उक्त व्यवस्था गरिए पनि एमाले पक्ष बजेट पास गराउने पक्षमा नदेखिएपछि नगर प्रमुख हर्क साम्पाङले अर्को मिति तोकेर बैठक स्थगित गरेका हुन ।

विषयगत समितिको बजेट तथा कार्यक्रम तर्जुमा गर्न स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको श्रावण २९ गते बसेको बैठकमा कुल २ अर्ब २० करोड ७४ लाख ५९ हजारको घाटा बजेट कार्यपालिका बैठकमा पेस गर्ने निर्णय भएको थियो । सोही अनुसार आज बैठक बोलाइएको हो ।

प्रस्तावित बजेटमा मेयर भिजनमा ३ करोड ५ लाख, मेयर कोषमा १ करोड ५० लाख र उपमेयर भिजनमा २ करोड, उपमेयर कोषमा ७५ लाख राखिएको छ । गत वर्ष मेयर भिजन ५ करोड विनियाेजन गरिएकाे थियो । यसपालि छुट्टै वडाको बजेट बाहेक वडा अध्यक्षहरूको योजना अनुसार खर्च गर्ने गरी १० करोड र कार्यपालिका सदस्य भिजनमा ४५ लाख रुपैयाँ राखिएको छ ।

उपप्रमुख अईन्द्र विक्रम बेघाका अनुसार अघिल्लो आर्थिक वर्ष ०८१/०८२ भन्दा उपमेयर भिजन काेषमा १ करोड घटाइएको बताए ।

प्रस्तावित बजेट आज बस्ने कार्यपालिका बजेट सिलिङ गर्दै अनुमोदन गर्ने भनेतापनि एमालेका वडा अध्यक्ष र कार्यपालिका सदस्यहरूका कारण बजेट टेबुलै नपाएको हो । बजेट प्रस्तुत नभएपछि बैठक स्थगित गर्दै नगरप्रमुख हर्क साम्पाङले भने ‘समय पनि बित्यो फेरी पनि बुझेर छलफल गरेर आउनु न भदौ १३ गते अर्को बैठक गरौँ ।’

बैठकमा धरान-१० का वडाध्यक्ष विवेक राई, धरान-१९ का वडाध्यक्ष पूर्णबहादुर लिम्बु, धरान-७ का वडाध्यक्ष जीवनराज सुवेदी, कार्यपालिका सदस्य सिर्जना नेपाल, सवित्रा परियार लगायतले सिलिङ समितिको बजेट प्रस्तावको रूपमा कार्यपालिकामा आउनु माग राखे । उनीहरूको भनाई ब्रेककडाउन सहितको बजेट आफूहरूलाई थाहा हुनुपर्ने भन्ने थियो ।

उनीहरूले घाटा बजेट प्रस्तुत गर्न नहुने माग राख्दै मेयर उपमेयर कोष र भिजन कोष राख्न नहुने माग राखे । विधि प्रक्रिया र कानुन संम्बत नगर विकास कोष राखेर जानुपर्ने उनीहरूको प्रस्ताव थियो ।

धरान-१७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई र धरान-१८ का वडाध्यक्ष प्रवीण राईले बजेट पास हुनुपर्ने  धारणा राखेका थिए । उनीहरूको भनाई थियो ‘१८ पटक बसेको राजश्व परामर्श समितिले ल्याएको बजेट पास हुनुपर्छ ।’

घाटाको बजेट अघिल्लो कार्यकाल देखि नै चलिआएकोले घाटाको बजेट भए पनि पास हुनुपर्ने उनीहरूले माग राखेका थिए ।

धरान-१३ वडा अध्यक्ष नेत्र काफलेले फरक धारण राख्दै मेयर उपमेयर कोष र भिजन कोष र कार्यपालिका सदस्यहरूको कोष हुन्छ भने वडा सदस्यहरूको पनि कोष हुनुपर्ने माग गरे ।

कार्यपालिका बैठकमा विविध सहित २७ वटा एजेण्डामा पालिका गानऽ नियम उपनियम, नीति तथा कार्यक्रम र कर्मचारी तह वृद्धि सहित ५ वटा प्रस्ताव पास भएको थियो । बजेटको बारेमा पुनः १३ गते बस्ने कार्यपालिका बैठकमा छलफल हुने भएको छ ।