धरान : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव उपरीक्षक दुर्गाप्रसाद दाहाल, मोरङ जिल्ला प्रहरीका प्रहरी निरीक्षक सरोज खनाल, इलाका प्रहरी कार्यालय दोहमना मोरङका वरिष्ठ हवल्दार विष्णु पराजुली र जवान समिप सुब्बा साउन महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित भएका छन् ।
उनीहरूलाई मोरङ, सुनसरी र झापा जिल्लमा २०८१ माघ १५ गते देखि ट्रान्सफर्मरहरु चोरीको घटनामा संलग्न १२ जनालाई पक्राउ गर्नका साथै चोरिएका वस्तु, सवारी समेत बरामद गर्न सफल भएकोमा सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको हो ।
प्रदेश प्रहरी कार्यालयका अनुसार मोरङको १० ठाउँ, सुनसरीको १२ र झापाको २ ठाउँ गरी २४ थान विद्युत् ट्रान्सफर्मर चोरीका घटनाको अनुसन्धान गर्ने क्रममा साउन ९ गते चोरीमा संलग्न १२ जना व्यक्ति पक्राउ गरिएको थियो ।
उनीहरूबाट ट्रान्सफर्मर चोरीमा प्रयोग भएको औजारहरू र ट्रान्सफर्मरबाट निकालेको ३६८ किलो ५ सय ग्राम तामाको तार बरामद गरिएको छ ।
साथै चोरी गर्न प्रयोग गरेको को. १ च ७७२९ नम्बरको पिकअप गाडी, ५ थान मोटरसाइकल र १२ थान मोबाइल समेत बरामद गरिएको छ ।
नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय विराटनगरको समन्वय, सहकार्यमा चोरीमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउने उत्कृष्ट कार्य सम्पादनको उच्च मूल्याङ्कन गर्दै साउन “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषणा गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।