धरान : माया धराने कृषक तथा उपभोक्ता समितिको नाममा उत्पादित 'माया धराने बेसार' अहिले सामाजिक सञ्जालमा व्यापक प्रचारित भएको देखिन्छ । नगरप्रमुख हर्क साम्पाङले गत जेठ २१ गते उक्त लघु उद्योगको उद्घाटन गरेका थिए ।
धरान उपमहानगरपालिका आफैले उद्योग सञ्चालन गर्ने भनी कार्यपालिकाले निर्णय गरेको थियो । तर प्रदेश सरकारको घरेलु तथा साना उद्योग कार्यालय इटहरीले ‘पालिकाको नाममा उद्योग दर्ता गरी सञ्चालन गर्ने स्पष्ट कानुनी व्यवस्था’ नभएकोले उद्योग दर्ता गर्नै अस्वीकार गरेको थियो ।
कानुनी रूपमा उपमहानगरपालिकाले उद्योग सञ्चालन गर्न स्थानीय सरकारको कानुन निर्माण गरेर प्रक्रिया पुरा गरी विधि सम्मत उद्योग दर्ताका लागि निवेदन दिन सक्थ्यो । तर उद्योग दर्ता गर्ने स्थानीय कानुन समेत नभएको अवस्थामा नगर प्रमुख हर्क साम्पाङले आफै हस्ताक्षर गरी माया धराने कृषक तथा उपभोक्ता समितिको नाममा दर्ता प्रमाणपत्र दिएको पाइएको छ ।
उपमहानगरपालिकाले स्थानीय व्यवसाय प्रमाणपत्र प्रदान गर्दा कार्यालयका प्रशासकीय अधिकृतले प्रमाणित गर्ने प्रचलन छ । उपमहानगरपालिकाको नियम समेत उल्लेख भएको छुट्टै प्रमाणपत्र दिइने गरिएको प्रचलनको ठाउँमा नगर प्रमुख साम्पाङले उपमहानगरपालिकाको लेटर प्याडमा ‘उद्योग दर्ता प्रमाणपत्र’ प्रिन्ट गरी हस्ताक्षर गरेका छन् ।
विधिहरू पुरा नगरी आफै दर्ता गर्ने आफै प्रमाणपत्र दिनु ठिक होइन : उपप्रमुख बेघा
धरान उपमहानगरपालिकाका उपप्रमुख बेघाले भने ‘कार्यपालिकाको निर्णय अनुसार उद्योग खोल्ने निर्णय त भयो, तर घरेलु तथा उद्योगमा दर्ता गर्न पठाउने निर्णय भएको हो ।’
दर्ता प्रक्रिया पूरा नभएपछि प्रक्रिया पुरा गर्न अन्य विधिहरू पुरा नगरी आफै दर्ता गर्ने आफै प्रमाणपत्र दिनु ठिक होइन । उनले भने ‘नगर प्रमुखले आफै उपमहानगरपालिकाको लेटर प्याडमा उद्योग दर्ता गर्ने होइन ।’
२०८१ भाद्र १८ गतेको कार्यपालिका बैठकले उद्योग स्थापनाका तथा सञ्चालन प्रक्रियाका लागि प्रदेश औद्योगिक व्यवसाय ऐन २०७७ बमोजिम घरेलु तथा साना उद्योगमा साबुन तथा बेसार उद्योग दर्ता प्रक्रिया अगाडी बढाउने निर्णय गरेको थियो ।
घरेलु तथा साना उद्योग कार्यालयको भनाई
घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख उद्योग अधिकृत राजन पाण्डेले भने ‘पालिकाले उद्योग सञ्चालन गर्ने कानुनी रूपमा प्रावधान छैन र हाल सम्म कोशी प्रदेशमा पालिकाकै नाममा उद्योग खोलेको अभ्यास छैन ।’ 
उद्योग नै खोले पनि उद्योग गठन आदेश जारी गरेर मात्र उद्योग खोल्न मिल्ने व्यवस्था उल्लेख गर्दै पाण्डेले भने ‘उद्योग व्यवसाय सञ्चालन कसरी गर्ने, नियन्त्रण नियमन, स्वायत्त कानुन, तलब कर्मचारी नियुक्ती कसरी गर्ने भन्ने प्रस्ट व्यवसाय ऐन नियम बनेको हुनुपर्ने बताए ।  
उनका अनुसार घरेलु तथा साना उद्योग कार्यालयमा धरान उपमहानगरपालिकाले २०८१ भदौ २८ गते उद्योग दर्ताका लागि पत्राचार गरेको थियो । कार्यालयले पत्राचार गर्दै कोशी प्रदेश निजी तथा साझेदारी फर्म दर्ता ऐन २०७७ र प्रदेश औद्योगिक व्यवसाय ऐन २०७७ मा भएको व्यवस्था बमोजिम व्यक्ति, फर्म संस्था, कम्पनी र सहकारी संस्थाहरूले मात्र फर्म तथा उद्योग दर्ता गर्न सक्ने कानुनी व्यवस्था रहेको जानकारी गराएको थियो । 
प्रदेश औद्योगिक व्यवसाय ऐन २०७७ को दफा ६१ मा लघु उद्यमको दर्ता नवीकरण तथा नियमन सम्बन्धी कार्य स्थानीय तहले गर्न सक्नेछ भनी उल्लेख भएको तर ‘पालिकाको नाममा उद्योग दर्ता गरी सञ्चालन गर्ने सम्बन्धमा प्रदेश सरकारमा कानुनमा स्पष्ट कानुनी व्यवस्था नभएको’ पनि स्पष्ट गरेको थियो ।
पालिकामा कुनै कानुन वा प्रचलित अन्य कानुनमा पालिकाको नाममा उद्योग दर्ता गरी सञ्चालन गर्ने व्यवस्था भए सोको प्रतिलिपि सहित संलग्न राखी प्रदेश औद्योगिक व्यवसाय नियमावली २०८० को नियम ४ बमोजिम कागजातहरू संलग्न गरी अनुसूची १ बमोजिमको ढाँचामा उद्योग दर्ताको निवेदन दिन घरेलुले उपमहानगरपालिकालाई जानकारी गराएको थियो ।
उपमहानगरपालिकामा कुनै पनि स्पष्ट कानुनी व्यवस्था नभएको तथा ऐन नबनाई नगर प्रमुख साम्पाङले नगरपालिका आफैले खोल्ने भनिएको उद्योग कृषक तथा उपभोक्ता समितिको नाममा सञ्चालनको अनुमती दिएका हुन् ।
maya-dharane-besar
सञ्चालक समिति अध्यक्षको भनाई
नगर प्रमुख साम्पाङले हस्ताक्षर गरेको प्रमाणपत्रमा सञ्चालकको नाम उल्लेख छैन । धरान-१४ का प्रसाद राईले माया धराने कृषक तथा उपभोक्ता समितिको आफू अध्यक्ष रहेको पुष्टि गरेका छन् ।
उनले आफू सहित १५ जना कृषकहरू कार्यसमिति रहेको बताए पनि कार्यसमितिको नामहरू तत्काल थाहा नभएको फोन कुराकानीमा बताए । उनले भने ‘अहिले कार्यसमितिमा को को छन् भनेर थाहा छैन माइन्युट नै हेर्नु पर्छ ।’
सार्वजनिक रूपमा जानकारी नभए पनि उद्योगले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरलाई गरेको पत्राचारमा उद्योगको कुल पुँजि ५ लाख रहेको जानकारी गराएको छ । 
प्रमुख साम्पाङका सहयोगी मिना सिंगकसंग उद्योगको कारोबार बारे सम्पर्क गर्दा आफूलाई उद्योग सञ्चालनबारे आफूलाई केही थाहा नभएको बताइन् । उनले भनिन् ‘मैले मार्केटिङमा सामान्य रूपमा सघाउँदै आएकी मात्र हुँ ।’ साम्पाङका अर्का सहयोगी सत्य घलेसँग फोन सम्पर्क गर्दा झर्केर कुरा गर्नै चाहेनन् ।
अनुगमन अधिकृत बेद प्रसादका भनाई :
नगरप्रमुख साम्पाङले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरलाई २०८१ चैत्र २० गते उद्योग उपमहानगरपालिकामा दर्ता रहेको भन्दै उत्पादन गुणस्तर परीक्षण गरी गर्न पत्राचार गरेका थिए । कार्यालयले बेसारमा गुणस्तर पाइएकोले स्वीकृति दिएको जनाएको छ ।
खाद्य गुणस्तर विभाग बिराटनगरमा उत्पादनको गुणस्तर परीक्षण गराए तापनि माया धराने बेसारको गुणस्तरबारे धरान उपमहानगरपालिकाकै बजार अनुगमन शाखा भने अनभिज्ञ छन । अनुगमन अधिकृत बेदप्रसाद सापकोटाले अहिले सम्म उद्योगको अनुगमन नभएको बताए । उनले भने ‘हाल सम्म बेसार उद्योगको अनुगमन भएको छैन ।’
maya-dharne-besar
besar-udyog