धरान : नगर प्रमुख हर्क साम्पाङले फेसबुकमा सार्वजनिक गरेको सर्दु खोलामा बनेको श्रम संस्कृति पार्कको हिसाबमा पञ्चकला राई बान्तवाले रोचक कमेन्ट गरेकी छन् ।
देश, विदेशका नेपालीको आर्थिक सहयोग, श्रमदान र प्रदेश सरकारको लगानी समेत लागेको भनिएको उक्त पार्कमा भएको लगानी र त्यसबाट भएको आम्दानी बारे अहिले सम्म लेखा परीक्षण गरिएको हिसाब सहित सार्वजनिक गरिएको छैन ।
नगर प्रमुख साम्पाङको फेसबुक स्ट्याटसको रूपमा लेखिएको हिसाब र त्यसमा पञ्चकलाले गरेको कमेन्ट अचानक आइतबार सामाजिक सञ्जालमा देखिएको हो ।
प्रमुख साम्पाङले लेखेका छन् ‘स्थापना भए यता २०८२-३-३२ गते सम्म श्रम संस्कृति पार्कले रु.१,०७,३९,१८१/-(एक करोड सात लाख उञ्चालिस हजार एक सय एकासी) आम्दानी गरेको छ । जुन आम्दानीबाट धेरै ठाउँमा ड्रेन, तार जाली र विपद् रोकथाम समेत लगानी गरिएको छ ।’
त्यसमा पञ्चकला राई वान्तावाले यस्तो कमेन्ट गरेकी छन् ‘मेयर साब भ्रम नफैलाउनु होस प्लिज, धरानेलाई जोड घटाउ आउँदैन र ? तपाईँको श्रम पार्कको कर्मचारी सङ्ख्या २५ जनालाई मासिक तलब १ जनालाई (डोर हाजिरी) न्यूनतम २२००० बाइस हजार, १ महिनामा तलब दिँदा ५,५०,००० (पाँच लाख पचास हजार) १ वर्षको तलब रकम रु ६६,००,००० छयसट्ठी लाख । अब तपाईँको कार्यकाल ३ वर्ष बितिसक्यो लौ आफै हिसाब किताब गर्नोस् कुन रकमले ड्रेन, तार, जाली लगाउनु भयो मेयर ज्यु ? श्रम गर्नु राम्रो हो तर श्रमको नाममा नागरिकलाई भ्रम फैलाउँदै आफूले आफैलाई बादशाह सम्झुन् भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु हो । यो रवैया बन्द गर्दा तपाई र हामी तमाम धरानेलाई हित हुनेछ । जय नेपाल, जय देश ।’
नगर प्रमुखको हिसाबमा आम्दानीको उल्लेख भए पनि पार्कका कर्मचारी, दैनिक खर्च कटाएर बाँकी रहेको रकम हो कि कुल रकम हो उल्लेख छैन । उनले उल्लेख गरेको तार जाली, ड्रेन, विपद् रोकथामको खर्च पार्क स्थलमा आउने बाढीको लागि भएको हो कि अन्य ठाउँमा त्यो पनि स्पष्ट छैन ।
यस्तो अवस्थामा पञ्चकला राईले गरेको कमेन्टले सार्वजनिक चासो बढाउनु स्वाभाविक छ । उनको हिसाब अनुसार प्रमुख साम्पाङले उल्लेख गरेका आम्दानीमा तलब खर्च मात्र घटाउँदा ३४ लाख ७२ हजार १८१ रुपैयाँ खुद बचत रहेको बुझिन्छ ।
बचेको उक्त रकम पार्ककै मर्मत सम्भारमा खर्च भयो कि अन्य ठाउँमा खर्च गरियो भन्ने मनसाय कमेन्ट गर्ने पञ्चकलाको चासो अस्वाभाविक मान्न सकिन्न ।
prak-hisab