धरान : सुनसरी उद्योग वाणिज्य सङ्घको नयाँ नेतृत्व चयन गर्न असार ३० गते निर्वाचन हुदैछ । निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार गोपाल श्रेष्ठ २०६४-२०६६ सम्म अशोक ताम्राकार अध्यक्ष हुँदा सुनसरी उद्योग वाणिज्य सङ्घको कार्यसमिति सदस्य थिए ।
त्यसयता सङ्घको विभिन्न जिम्मेवारीमा योगदान दिइरहेका छन् । उनी २०६६-२०६९ सम्म अध्यक्ष मोहनकाजी शाक्य सङ्घको उद्योग सचिव, २०६९-२०७२ सम्म अध्यक्ष सरोज श्रेष्ठ सङ्घको कार्यसमिति सल्लाहकार, २०७३-२०७६ सम्म अध्यक्ष राजेन्द्र साहको कार्यसमितिको सल्लाहकार थिए ।
यस्तै, २०७६-२०७९ सम्म अध्यक्ष गिरीधारी सापकोटाको कोषाध्यक्ष र २०७९ देखी हाल सम्म अध्यक्ष विजय श्रेष्ठको प्रथम उपाध्यक्ष हुन । अरुण पेट्रोलियम ट्रेडिङ सेन्टर, धरान प्रिन्टिङ प्रेस, अपुश्री आयल सेन्टर, हिमालयन सर्भिस स्टेशन, रामपुर आयल सेन्टर प्रालि, विष्णु ढुवानी प्रालि, नेपाल फ्युल सेन्टर लगायतका प्रोप्राइटर हुन । उनी नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसन केन्द्रीय सदस्य, पूर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी सङ्घ वरिष्ठ उपाध्यक्ष, पेट्रोलियम डिलर्स एशोसिएन कोसी कोषाध्यक्ष पनि हुन् ।
धरानमा चिरपरिचित श्रेष्ठ व्यवसायी र समाजसेवी पनि हुन् । सामाजिक क्षेत्रमा आसरा सुधार केन्द्र पानवारीको सञ्चालक समिति सदस्य, सुनसरी जिल्ला गल्फ सङ्घको कार्यसमिति सदस्य, रोटरी क्लब अफ घोपा धरानको संस्थापक सदस्य, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घ र नेवा: देय् दबू धरानको सल्लाहकार हुन् ।
अहिले सङ्घको चुनावी प्रचार तीव्रतामा छ । यस बिच अध्यक्षका उम्मेदवार गोपाल श्रेष्ठको निर्वाचित हुँदा सङ्घले धरानका विषयमा सङ्घले खेल्ने आगामी भूमिका र उनको चुनावी एजेण्डाहरु के के होलान् भन्ने प्रश्नमा उनको भनाई :
सङ्घको संस्थागत विकासमा तपाईँको एजेण्डा ?
उद्योगी, व्यवसायीहरूको हकहित, संरक्षण र संवर्द्धन नै मेरो एजेण्डाहरु हुन । सङ्घको संस्थागत विकासको लागि मेरो प्राथमिकता धरान कोसेली घर निर्माण गर्ने, सङ्घको कार्यालयलाई डिजिटलाइज सूचना प्रविधि केन्द्रित बनाउने लक्ष्य छ । व्यवसायीहरूको सामूहिक बिमाको योजना तत्कालै कार्यान्वयन गर्नेछु ।
सङ्घलाई धरानका विकास र समृद्धिका लागि नेतृत्वदायी बनाउँदै बहुउपयोगी धरान लेउती सुरुङ मार्ग निर्माणको पहलको कार्य गरिने छ । धरानको औद्योगिक ग्राम निर्माण पुनः सुचारु गर्न पहल गर्ने, प्रादेशिक औद्योगिक प्रदर्शनी केन्द्र बनाउने र तीनै तहका सरकारसँग समन्वय र पहल गर्न अगुवाको रूपमा सङ्घलाई स्थापित गर्ने मेरो एजेण्डा छ ।
धरानको पर्यटकियस्थलहरुलाई सूचिकृत गरी गन्तव्य घोषणा गर्न पहल, उद्योगी व्यवसायी हितमुखी वैज्ञानिक कर नीतिका लागि पहल गर्ने, स्वास्थ्य संस्थाहरूको सहकार्यमा उद्योगी व्यवसायीहरूलाई स्वास्थ्योपचारमा छुटको व्यवस्था गर्ने, पुर्वअध्यक्ष परिषद् गठन गर्ने, बस्तुगत सङ्घहरूको समन्वय समिति, युवा व्यवसायीहरूको समन्वय समिति, महिला उद्यमीहरूलाई प्रोत्साहन क्षमता अभिवृद्धि विधान संशोधन लगायत एजेण्डाहरु छन् ।
के आधारमा तपाईँलाई उद्योगी व्यवसायीले जिताउने ?
मलाई सुनसरी उद्योग वाणिज्य सङ्घमा १८ वर्ष अघि देखि विभिन्न जिम्मेवारीमा रहेर गरेको कामको उहाँहरूले मूल्याङ्कन गर्नु हुनेछ भन्न विश्वास छ । आफै पनि व्यापारमा संलग्न भएकोले व्यवसायीहरूको पिर मर्कासँग जोडिँदै आएको सबैले देख्नुभएको छु । वस्तुगत सङ्घ, पुर्वअध्यक्ष ज्युहरू र वर्तमान कार्यसमितिको मलाई पूर्ण समर्थन छ । सङ्घका मतदाताहरूले मलाई उत्साहित गराउँदै आउनु भएको छ । मेरो इमानदारिता, लगनशीलता र व्यापारीहरूलाई समस्या पर्दा तत्काल पुग्ने मेरो स्वभावले मप्रति सबैको सद्भावनै मैले चुनाव जित्ने आधार हो ।
कोरोना महामारीमा सङ्घको कोषाध्यक्ष थिएँ सङ्घको कोषमा ५० लाख रुपैयाँ मुद्दती खातामा जम्मा गरियो । हाल प्रथम उपाध्यक्ष हुँदा सङ्घको मिलेनियम हललाई १५० बाट ५०० जना क्षमताको एयरकण्डिशन, डिजिटल सुविधा सहितको हल पुनर्निर्माण कार्य मेरै संयोजकत्वमा बनेको छ । धरानमा ३ पटक भएको एक्स्पोको पनि संयोजन गरिसकेकाले मेरो क्षमता र योग्यताप्रति पनि उद्योगी व्यवसायी परिचित छन् ।
धरान-लेउती सुरुङ मार्ग अहिले चर्चामा छ, व्यापारीको चुनावमा यो एजेण्डाले प्राथमिकता पाउनुको कारण के हो ?
मुलघाट हुँदै हाल निर्माण भइरहेको तमोर कोरिडोर सिधै वराहक्षेत्र भएर चतरा कोसी पुलबाट काठमाण्डौं जान्छ । मदन भण्डारी राजमार्ग पनि धरानको तीनकुनेबाट डाइभर्ट भएको छ । दुई वटा राजमार्गले धरान वाइपास हुँदैछ । यसले धरानको व्यापार, व्यवसायलाई प्रत्यक्ष असर पुग्छ भनी सबै पक्षले चिन्ता जनाउँदै आएको छ ।
सङ्घीय सरकारले बजेटमा घोषणा गरेको सुरुङ मार्ग बन्यो भने पूर्वका पहाडी क्षेत्रको आवागमनका साथै व्यापार, व्यवसायको रुट धरान, इटहरी र विराटनगर छुटिन्छ । सुरुङ मार्ग पर्यटनको लागि पनि आकर्षणको विषय बन्छ । त्यसैले यो सुरुङ मार्ग धरानको व्यापार, व्यवसाय र पर्यटनको हितमा छ ।
महत्त्वपूर्ण कुरा सुरुङ मार्ग तमोरको पानी पनि धरान ल्याउन कम खर्च पर्छ । धरानको खानेपानीको समस्या दीर्घकालीन रूपमा हल गर्न सकिन्छ । धरानलाई मात्र नभै तमोरको पानी इटहरी, विराटनगरसम्म वितरण गर्ने प्रबन्ध हुनसक्छ ।
यो निर्माणको पहलका लागि राजनीतिक, नागरिक समाज र तिने तहको सरकारलाई घचघच्याइने कार्यको नेतृत्व सुनसरी उद्योग वाणिज्य सङ्घले लिनु पर्दछ भन्ने उद्देश्य हो । यसमा व्यक्तिगत र राजनीतिक उद्देश्य छैन ।