धरान: इतिहासकार इमानसिंह चेम्जोङले कलकत्तामा पढ्दा हासिल गरेको स्वायत्त प्रदेशको राजनीतिक मार्गचित्र लिम्बुवानमा प्रयोग गर्न चाहेका थिए तर, लिम्बूहरूकै आपसी एकता नहुँदा २०१५ सालको पहिलो संसदीय चुनावमा हारेपछि उनी राजनीतिबाटै अलग भए ।
लिम्बुवान नागरिक समाज युके (बेलायत) द्वारा ५० वर्ष अघि बितेका चेम्जोङलाई मरणोपरान्त १ लाख रुपयाको ‘काङसोरे पुरस्कार’ वितरण समारोहमा चेम्जोङका कान्छा छोरा नेपाली सेनाका पूर्व सहायक रथी मोहनसिंह चेम्जोङ,प्राज्ञ दिलेन्द्र कुरुम्वाङले उक्त कुरा बताएका हुन् ।
चेम्जोङले भने ‘मेरा बाबाले कलकत्तामा पढ्दा हासिल गरेको स्वायत्त प्रान्तको राजनीतिक ज्ञान लिम्बुवानमा प्रयोग गर्न चाहेका थिए, तर लिम्बुहरूले त्यो कुरा बुझेनन् उहाँ चुनावमा हार्नु भयो लिम्बुवान स्वायत्तता अधुरो रह्यो ।’
इमानसिंह चेम्जोङ उनका पिताबाट प्रभावित भई लिम्बु भाषा, लिपि र संस्कृतिको प्रचारमा दार्जिलिङ, सिक्किम हुँदै नेपाल आएको बताउँदै मोहनसिंहले भने ‘लिम्बुवानमा आएपछि उहाँ राजनीतिक रूपमा सक्रिय भई स्वायत्त लिम्बुवान प्रदेशका लागि लागेका थिए ।’
मुलुक भर्खरै राणा शासनबाट मुक्त भएको बेला स्वायत्त प्रदेशको माग सहित समावेशी लिम्बुवान सुधार सङ्घ प्रभावशाली रूपमा अघि बढेको थियो । तर लिम्बुहरू व्यक्तिगत पहुँच र स्वार्थमा लागेर इमानसिंह चेम्जोङलाई एक्लाएको उनले बताए ।
उनले भने ‘लिम्बु जातिसँग दुई वटा कुरा छ, उदारता र घमन्ड, उदारताका कारण हामी अहिले सम्म अपराजित जातिका रूपमा बाँचेका छौँ भने घमन्डका कारण हामी बिच एकता हुन सकेको छैन ।’
यो कुरा लिम्बु समुदायले हेक्का राख्न जरुरी भएको उनले बताए ।
नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ दिलेन्द्र कुरुम्बाङले २००८ सालमा लिम्बुवानका अगुवाहरूले इमानसिंह चेम्जोङलाई लिम्बुवान स्वायत्तता प्राप्तिका लागि राजनीतिक उद्देश्यले लिम्बुवानमा बोलाएको बताउँदै भने ‘२००७ सालको परिवर्तन पछि लिम्बुवान स्वायत्तता प्राप्तिका लागि सङ्गठन निर्माण गरी राजनीतिक रूपमा नेतृत्व गर्ने पहिलो व्यक्ति इमानसिंह चेम्जोङनै थिए ।’
उनले चोम्जोङले बनाएको त्यति बेलाको लिम्बुवान सुधार सङ्घको नेतृत्वमा लिम्बुहरू मात्र थिएनन्, लिम्बुवान समावेशी माग रूपमा अघि बढेकाले लिम्बुहरूलाई फुटाइएको चर्चा गर्दै प्राज्ञ कुरुम्वाङले भने ‘संसद् सदस्यमा उहाँका जीत पक्का थियो तर, चुनावको अघिल्लो एकै दिनमा लिम्बुहरू पल्टिए लिम्बुहरूले नै उहाँलाई भोट दिएनन् ।’
चेम्जोङको चुनावी पराजय स्वायत्त लिम्बुवान प्राप्तिको चरमोत्कर्षमा विराम लागेको उनले बताए । चुनावी पराजयपछि इमानसिंहको राजनीतिमा पनि पूर्ण विराम लागेको बताउँदै प्राज्ञ कुरुम्बाङले भने ‘त्यसपछि उहाँलाई राजा महेन्द्रले त्रिभुवन विश्वविद्यालयमा किरात विशेषज्ञको रूपमा मनोनयन गरे ।’
त्रिभुवन विश्वविद्यालयको सेवाकलामा चेम्जोङले लिम्बु इतिहास, भाषा, साहित्य, संस्कृतिमा गरेका अनुसन्धानहरू अहिले धरोहरको रूपमा रहेको उनले बताए ।
समारोहमा प्रमुख अतिथि प्रदेश नं १ का प्रदेश प्रमुख प्राडा.गोविन्दबहादुर तुम्बाहाङले मोहनसिंह चेम्जोङलाई उनका पिता इमानसिंह चेम्जोङलाई मरणोपरान्त प्रदान गरिएको ‘कांसोरे पुरस्कार’को १ लाख रुपयाको चेक, ताम्र पत्र प्रदान गरे ।
नागरिक समाज युकेका अध्यक्ष छत्र वनेमको सभापतित्वमा भएको समारोहमा पुरस्कार निर्णायक समिति सदस्य नरप्रसाद लुङफुङवा, चुम्लुङ केन्द्रीय सदस्य सङ्गीता सुब्बा, जिल्ला अध्यक्ष शिवि सुब्बा, पहिचानवादी मोर्चाका जेन्टल लावती, जनता समाजवादी समाजवादी पार्टीका ताजुब लिम्बु, युके समाजका नेपाल प्रतिनिधि निलिफा सुब्बा लगायतले इमानसिंहको योगदान र लिम्बुवानको राजनीतिका बारेमा आआफ्ना धारणा व्यक्त गरेका थिए ।