धरान : भारतको बिहार प्रदेशका पर्यटक भित्र्याउन धरानमा दुई दिने ‘कोशीमा बिहार उत्सव २०८२’ आयोजना हुने भएको छ। 
नयाँ वर्ष २०८३ को अवसर पारेर यही चैत्र २६ र २७ गते धरानको भानुचोकस्थित खुला क्षेत्रमा उत्सव आयोजना गर्न लागिएको हो।
कोशी प्रदेश सरकारले निजी क्षेत्रको सहकार्यमा २०८२ साललाई पर्यटन वर्षका रूपमा मनाइरहेको छ । सोही सन्दर्भमा कोशी कोरिडोरमा भारतीय पर्यटक लक्षित गर्दै उत्सव आयोजना गर्न लागिएको हो ।
विहार उत्सव पर्यटन कार्यालय धरानको प्रवर्द्धन,सुनसरी उद्योग वाणिज्य सङ्घको संयोजन तथा होटल एसोसिएसन अफ धरान र होटल व्यवसायी समिति धरानको सहकार्यमा आयोजना हुन लागेको हो। 
आयोजकका अनुसार बिहारबाट आउने पर्यटकले धरानमा आफ्नोपन महसुस गर्न सकुन्,र यहाँको संस्कृति,खानपान तथा स्थानीय नागरिकसँग आत्मीय सम्बन्ध विकास होस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।
उत्सवको अवसरमा सीमापारका उद्योगी व्यवसायीबिच व्यापार, उद्योग तथा लगानीका सम्भावनाबारे अन्तरक्रिया समेत गरिने जनाइएको छ।
उत्सवमा भारतको बिहारबाट पर्यटनकर्मी, पत्रकार, कलाकार तथा विद्यालय सञ्चालकहरूको सहभागिता रहनेछ। कार्यक्रममा दुई देशका कलाकारहरूको सांस्कृतिक प्रस्तुति, कला कार्यशाला, पर्यटन प्रवर्द्धन गतिविधि तथा विविध खाद्य स्टलहरू रहनेछन्।
कार्यक्रम संयोजक नारायण लिम्बुले धरानमा आयोजना हुन लागेको यो उत्सवले कोशी करिडोरका सम्पूर्ण क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै कार्यक्रममा सहभागी हुन सम्पूर्ण नागरिकलाई अनुरोध गरेका छन्।