वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकाले होटल तथा होमस्टे सञ्चालकहरूलाई लक्षित गरी हस्पिटालिटी व्यवस्थापन सम्बन्धी तालिमको आयोजना गरेको छ।
वराहक्षेत्र नगरपालिका वडा नं १ र २ पर्यटकीय क्षेत्रमा रहेका होटल, होमस्टे तथा नगरपालिकाका प्रमुख बजार क्षेत्रका व्यवसायीहरूलाई उक्त हस्पिटालिटी व्यवस्थापन सम्बन्धी तालिमको आयोजना गरिएको नगरपालिकाका प्रशासन शाखा प्रमुख मातृका तिवारीले बताए ।
व्यवसायलाई कानुनी रूपमा दर्ता गरी नवीकरण गर्ने, अवैध गतिविधिमा संलग्न नहुने, गुणस्तरीय आतिथ्य सेवा प्रदान गर्ने, सरसफाइ तथा स्वास्थ्य सुरक्षाका मापदण्डहरू कडाइका साथ पालना गर्ने लगायतका विषयमा तालिम प्रदान गरिनेछ । चतरा स्थित तोरीवारी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको सभा हलमा तालिम मङ्गलवार र बुधवार दुई दिनसम्म सञ्चालन हुनेछ ।
नगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत सम्पन्न तालिममा ४५ जना भन्दा बढी होटल तथा होमस्टे सञ्चालकहरूको सहभागिता रहेको थियो।
तालिममा सरसफाइ, किचन व्यवस्थापन, अतिथि सत्कार, सुविधा व्यवस्थापन लगायतका विषयमा प्रशिक्षण प्रदान गरिने नगरपालिकाका प्रशासन शाखा प्रमुख मातृका तिवारीले बताए ।