इटहरी : गतबर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कोशी प्रदेश शून्य स्वर्णका साथ घर फर्कियो । बागमती प्रदेशले ३६ स्वर्ण, ७ रजत र ११ कांस्यसाथ ७ प्रदेशमा टिम च्याम्पियन बन्दा कोशी प्रदेश लाचार बन्न पुग्यो । सुदूरपश्चिम प्रदेशले १४ स्वर्ण, २० रजत र १८ कांस्य सहित दोस्रो स्थान बनायो भने लुम्बिनीले ५ स्वर्ण, १३ रजत र १५ कांस्य जित्दै तेस्रो स्थान हासिल गरेको थियो ।
गण्डकीले पनि ४ स्वर्ण, ११ रजत र १७ कांस्य हात पारेको थियो । कर्णाली प्रदेश ४ स्वर्ण, ६ रजत र १९ कांस्यमा समेटिँदा मधेस प्रदेश ३ स्वर्ण, २ रजत र १० कांस्यका साथ छैटौँ स्थानमा पुग्यो । स्वर्ण पदक विहीन बनेको कोशी प्रदेशले ७ रजत र ८ कांस्य पदक मात्र हात परेर लज्जास्पद स्थितिमा पुग्यो ।  
छनौट चरण देखि नै विवादमा रहेको कोशी प्रदेश खेलकुद विकास बोर्ड प्रतियोगिताको नतिजाले थप आलोचित बनेको थियो । बोर्डको लापरबाहीको कारण ३ सय २४ खेलाडी प्रतिस्पर्धाबाट वञ्चित भएका थिए । विराटनगरमा भएको छनोट प्रतियोगितामा सुनसरी, खोटाङ र सोलुखुम्बु जिल्लाले सहभागिता जनाएन । तीन जिल्लामा खेलाडी छनौट हुन नसकेपछि ११ जिल्लाका खेलाडी बिचमा प्रतिस्पर्धा गराइएको थियो । 
प्रदेश खेलकुद विकास बोर्डले जिल्ला खेलकुद विकास समितिमा समयमै पत्राचार नगरेको कारण छनौट हुन सकेन । अहिले आएर बोर्ड र जिल्ला खेलकुद विकास समिति समेत भङ्ग भएको छ । जिल्ला मात्र होइन कोशी प्रदेश खेलकुद विकास बोर्ड समेत पदाधिकारी विहीन छ । पछिल्लो ७ महिनादेखि सदस्य सचिव नियुक्त हुन नसक्दा प्रदेशभरिका खेलकुद गतिविधि प्रभावित बनेको हो ।
बोर्डका सदस्य सचिव कृष्ण बहादुर बस्नेत (पर्शुराम)को कार्यकाल गत भदौ २५ सकिएपछि नयाँ पदाधिकारी चयन हुन सकेको छैन । प्रदेश र जिल्लामा खेलकुदको कुनै समिति नहुँदा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पुनः कोशी प्रदेश लज्जास्पद अवस्था पुग्ने निश्चित भएको छ । जिल्ला छनोटको लागी बजेट निकासा नभएपछि प्रक्रिया अलपत्र परेको हो ।
विद्यालय स्तरबाट प्रतियोगिताका लागि खेलाडी छनोट भएपनि जिल्लाबाट हुने छनौट प्रक्रिया रोकिएको हो । सामाजिक विकास मन्त्री रामप्रसाद महतोले चाडै नै बोर्ड फाइनल हुनेगरि तयारी भइरहेको बताए । उनका अनुसार जिल्ला तहबाट गतिविधि गर्ने र केही कानुनी झन्झट मिलाएर अगाडी बढ्न लागिएको छ । युवा तथा खेलकुद मन्त्रालयको तत्त्वावधान तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा रनिङ शिल्ड प्रतियोगिता हुने गरेको छ ।