धरान : सुनसरीको धरान–१६ स्थित सिटी मन्टेश्वरी चिल्ड्रेन्स हाउसद्वारा आयोजित १३औँ वार्षिकोत्सव तथा दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम २०८२ चैत्र २७ गते शुक्रबार याक्खा भवनमा सम्पन्न भएको थियाे।
“From gentle beginnings to confident steps…” भन्ने भावनात्मक सन्देशसहित आयोजित कार्यक्रममा साना बालबालिकाहरूले आफ्नो प्रतिभा, आत्मविश्वास र सिर्जनशीलता प्रभावशाली रूपमा प्रस्तुत गरेका थिए। नृत्य, गायन, विभिन्न प्रयोगात्मक गतिविधि तथा मनोरञ्जनात्मक प्रस्तुति मार्फत उनीहरूले दर्शकहरूको मन जित्न सफल भए।
दीक्षान्त समारोहअन्तर्गत उत्तीर्ण विद्यार्थीहरूलाई पदक प्रदान गरिएको थियो । साथै उत्कृष्ट प्रदर्शन गर्ने, १०० प्रतिशत हाजिरी कायम गर्ने तथा सफा सुन्दर विद्यार्थीहरूलाई पुरस्कार र सम्मान प्रदान गरिएको थियाे।
समारोहमा प्रमुख अतिथिका रूपमा शिक्षा विभाग प्रमुख धुर्वराज खड्का सहभागी थिए भने कार्यक्रमको सभापतित्व बोर्ड अफ डाइरेक्टर ज्ञानदीप लिम्बुले गरेका थिए। विशेष अतिथिका रूपमा सुनाखरी एकेडेमी प्लस टुका प्रिन्सिपल मिलन राई तथा बुद्ध आदर्श बोर्डिङ स्कुलका प्रिन्सिपल दिलीप योगीको उपस्थिति रहेको थियो। कार्यक्रममा संस्थाकी निर्देशक ओमु राई तथा विद्यालय परिवारका शिक्षक-शिक्षिकाहरूको सक्रिय सहभागिता रहेको थियो।
बालबालिकाको समग्र विकास, आत्मविश्वास अभिवृद्धि तथा सिर्जनात्मक क्षमताको प्रदर्शन गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले अभिभावक तथा समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको निर्देशक ओमु राई बताइन।


































































