धरानः धार्मिक एवं पर्यटकीय क्षेत्र धरान–२० साबिक विष्णुपादुकामा पहिलो पटक अन्तर वडा धरान भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
विष्णु सांस्कृतिक युवा क्लबको आयोजना हुने प्रतियोगिता विष्णुपादुका स्थित सिरिसे खेल मैदानमा सञ्चालन हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा बताइएको छ ।
प्रतियोगिता वैशाख १९ देखि २५ गतेसम्म सञ्चालन हुने अध्यक्ष विजय तामाङले बताए । 
प्रतियोगितामा धरानका १४ वटा वडाका टोली सहभागी हुनेछन् । विजेताले ५० हजार, उपविजेताले २५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन् । उत्कृष्ट खेलाडीहरूलाई विभिन्न विधामा सम्मान गरिनेछ ।
प्रतियोगितामा वडा २० का दुई टिम सहित वडा १, ३, ४, ८, १०, ११, १३, १५, १६, १७, १८ र १९ का टिमको सहभागी हुने अध्यक्ष तामाङले बताए । 
प्रतियोगिता ९ ए साइडको हुनेछ । टिममा ३७–३८ उमेरका १÷१ गरी २ जना सहित १३ जना हुनेछन् । ४० वर्ष भन्दा माथिका खेलाडीको सहभागिता अनिवार्य गरिएको छ ।
प्रतियोगिता सञ्चालनका लागि करिब ५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । वडा २० को धार्मिक तथा पर्यटकीय महत्वलाई खेलकुद मार्फत प्रचार गर्न प्रतियोगिता आयोजना गरिएको अध्यक्ष तामाङले बताए ।
भौगोलिक रूपमा केही विकट मानिने वडा २० मा खेलकुदप्रति युवाहरूको उच्च रुचि भए पनि पूर्वाधार र स्रोतको अभाव रहेकोले उनीहरू अवसरबाट वञ्चित रहेको उनको भनाई थियो ।
स्थानीय सरकारले खेलकुद प्रवर्द्धनमा अपेक्षित ध्यान दिन नसकेको अवस्थामा खेलकुदबाट स्थानीय, प्रदेश र सङ्घीय सरकारको ध्यानाकर्षण गराउने उद्देश्य पनि राखिएको बताइएको छ ।