वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकामा जारी चौथो संस्करणको वडा स्तरीय “वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगिता” अन्तर्गत बिहीबार सम्पन्न खेलहरूमा मा वडा नं. २ र वडा नं ५ विजयी भएका छन् । 
देविघाट स्थित वसन्त ऋतु माध्यमिक विद्यालयको खेलमैदानमा बुधवार खराब मौसमका कारण स्थगित भए पछि बिहीबार भएको खेलमा वडा नं. २ ले वडा नं. १० लाई शून्यका बिरुद्ब २ गोलको अन्तरले पराजित गरेको हो। लिग चरणको पहिलो खेलमा विजयीसँगै गत संस्करणको विजेता वडा नं २ ले प्रतियोगितामा ३ अङ्क प्राप्त गरेको छ । खेलमा उत्कृष्ट प्रदर्शन  गरेका वडा नं २ का आकाश राई ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद २ हजार ५ सय रुपैयाँसहित ट्रफी प्राप्त गरे। त्यस्तै बिहीबार सम्पन्न दोस्रो खेलमा वडा नं ५ विजयी भएको छ ।
वडा नं ५ ले वडा नं. ३ लाई शून्यका  बिरुद्ब १ गोलको अन्तरले पराजित गरेको हो। लिग चरणको पहिलो खेलमा विजयीसँगै गत  संस्करणको उप- विजेता वडा नं ५ ले प्रतियोगितामा ३ अङ्क प्राप्त गरेको छ । खेलमा उत्कृष्ट प्रदर्शन  गरेका वडा नं ५ का गोल रक्षक सन्देश चौधरी  ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद २ हजार ५ सय रुपैयाँसहित ट्रफी प्राप्त गरे।
प्रतियोगिताको पहिलो चरण नकआउटको खेल सम्पन्न पश्चात्   विजयी टोलीबिच लिग फर्म्याटमा खेलहरू सञ्चालन गरिएको  आयोजकले जनाएको छ । गत संस्करणको बिजेतालो रूपमा उत्कृष्ट ६ को स्थान सुरक्षित गरेको वडा नं २ सँगै वडा नं १, वडा नं ३, वडा नं ५ , वडा नं ९ र वडा नं १० लिग चरणमा प्रवेश गरेका छन् । उत्कृष्ट ६ अन्तर्गत लिग चरणको दोस्रो खेल शुक्रवार वडा नं. ९ र वडा नं.१०  बिच हुनेछ ।
“खेलकुद हाम्रो सान, खेलाडी उत्पादन गर्ने हाम्रो अभियान” भन्ने नारासहित सञ्चालन भइरहेको प्रतियोगिता वैशाख २५ गतेसम्म जारी रहनेछ। नगर खेलकुद विकास समितिको आयोजनामा २०७९ सालदेखि लिग-कम नकआउट ढाँचामा प्रतियोगिताको सुरुवात गरिएको हो।