धरान : धरानको नयाँ बसपार्क बनेर सञ्चालन हुने मिति धेरै पटक तोकिए । तर बसपार्कको लागि जग्गा विकासको कानुनी विवादले रोकिदैं आएको मिति फेरी एक पटक तोकिएको छ ।
कार्यवाहक नगर प्रमुख अइन्द्रविक्रम बेघाले भने ‘कार्यपालिकाले पास गरेको कार्यविधि नगर सभाले अनुमोदन गरेपछि बैशाख १५ गते भित्र नयाँ बसपार्क उद्घाटन हुन्छ ।’ उपमनपाको नगर सभा बैशाख ३ गते हुँदैछ ।
बेघाका अनुसार स्थानीयवासीले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा समेत उपमहानगरपालिकाको पक्षमा फैसला भइसकेको बताए । बाँकी प्रक्रियाहरू पूरा गरी बसपार्क सञ्चालनमा ल्याउने तयारी तीव्र बनाइएको उनको भनाई छ । 
तर, भानुचौकबाट एक्कासी बसपार्क तल सार्दा चुनौती आउन सक्ने यातायात व्यवसायीहरूको भनाइ छ । बसपार्कसम्म पुग्ने पहुँच मार्ग तथा आधारभूत पूर्वाधार तयार भइसके पनि व्यवसायी र स्थानीय तहबिच समन्वय नभएकोले पछि व्यवसायीहरूले यात्रुको सुरक्षा र सुविधालाई प्राथमिकता दिँदै स्पष्ट कार्य योजना आवश्यक रहेको बताएका छन् ।
राष्ट्रिय यातायात व्यवसायी महासङ्घ कोशी प्रदेश संयोजक सरोज श्रेष्ठका अनुसार बसपार्क निर्माण सम्पन्न हुनु सकारात्मक भए पनि तत्कालै स्थानान्तरण गर्न केही प्राविधिक तथा व्यावहारिक समस्या देखिएका छन् । 
उनले भने ‘व्यवसायीहरू नयाँ बसपार्कमा जान तयार छन्, तर यात्रुहरूको सहज पहुँच, व्यवस्थापन र व्यवसायमा पर्ने असरबारे स्पष्ट योजना आशा गरिरहेका छन् ।’ त्यसैले एकै चोटी सर्लक्कै बसपार्क सरी हाल्छ भन्न नसकिने उनको भनाई छ । 
यसअघि पूर्व प्रमुख हर्क साम्पाङले पनि आफैले उद्घाटन गरेर नयाँ बसपार्क सुरु गरिहाल्ने हतारो गरेका थिए । तर कार्यविधि नै पास नभएको अवस्थाले बसपार्क उद्घाटन गर्ने उनको इच्छा पुरा हुन सकेन । त्यस अघिका प्रमुख तिलक राई, कार्यवाहक प्रमुख मञ्जु भण्डारीले पनि आफ्नै कार्यकालमा बसपार्क चालु गर्ने प्रयास गरेका थिए । 
पछिल्लो पटक कानुनी विवाद किनारा लागेकोले कार्यवाहक नगर प्रमुख बेघा बसपार्क आफ्नो कार्यकालमा चालु गराउन निकै उत्साहित भएका हुन । धरानको बजार भानु चौक क्षेत्रमा बढ्दो ट्राफिक चाप घटाउन, सहरीकरणलाई व्यवस्थित बनाउन २०५८ मा सुरु भएको नयाँ बसपार्क निर्माण योजना हाल सम्पन्न भइसकेको छ । 
निर्माण सम्पन्न भएको लामो समय बित्दा पनि सञ्चालनमा आउन नसक्दा धरान उपमहानगरपालिकाले अपेक्षित उपलब्धि हासिल गर्न सकेको छैन भने ४ जना नगर प्रमुख तथा कार्यवाहकको कार्यकाल सम्म बसपार्क सुरु भएको छैन ।  
धरान–८ को सुन्दर बस्तीमा करिब एक बिघा सात कठ्ठा क्षेत्रफलमा आधुनिक बसपार्क ‘बिकोइ गीताञ्जली जेभी, दुहबी–सुनसरी’ले २३ करोड १५ लाख रुपैयाँ लागतमा निर्माण गरेको हो । बसपार्कको २०७५ माघ २६ गते तत्कालीन कोशी प्रदेशका सभामुख प्रदीप कुमार भण्डारीले शिलान्यास गरेका थिए । शिलान्यासपश्चात् तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले बसपार्क क्षेत्रको अवलोकनसमेत गरेका थिए । सुविधा सम्पन्न संरचना भएको दाबी गरिएको बसपार्कमा भुईँ तलामा करिब ३ सय यात्रु अट्ने प्रतीक्षालय, टिकट काउन्टर, एटिएम बुथ,सिसिटिभी निगरानी प्रणाली, सुरक्षा कक्ष, सार्वजनिक शौचालय, प्राथमिक उपचार कक्ष तथा मिनी मार्टको व्यवस्था छ । 
साथै यात्रुहरू चढ्ने–ओर्लने व्यवस्थित स्थान र २२ वटा अटो सञ्चालनका लागि छुट्टै स्थान समेत निर्माण गरिएको छ ।
केही कानुनी तथा व्यवस्थापकीय प्रक्रिया बाँकी रहेकाले ढिलाइ भएको उल्लेख गर्दै अब बसपार्क सञ्चालन गर्न सहज भएको कावा प्रमुख बेघाको भनाई छ ।
उनले भने ‘बसपार्क सञ्चालनमा ल्याउन नगरपालिका प्रतिबद्ध छ ।’ यो आयोजना नगर गौरव योजना अन्तर्गत पर्ने भएकाले व्यवसायीसँग निरन्तर संवाद भइरहेको उनले बताए ।
२३ वर्षअघि सुरु भएको यो महत्त्वाकाङ्क्षी योजना भौतिक रूपमा पूरा भएसँगै अब यसको प्रभावकारी सञ्चालन गरेर धरानको ट्राफिक व्यवस्थापन सुधार गर्न उपमहानगरपालिकाको प्रमुख चुनौती बनेको छ ।
bus-park-11