धरान : केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारको लागि आर्थिक वर्ष २०८३/०८४ मा त्रिवि अनुदान आयोगले ७ करोड ८५ लाख रुपैयाँ अनुदान निकासा गरेकोमा त्रिभुवन विश्वविद्यालय आर्थिक प्रशासनले कटौती गर्दा क्याम्पसमा आर्थिक कठिनाइ उत्पन्न भएको छ ।
आयोगका सदस्य रमेश अधिकारीको उपस्थितिमा आइतबार बसेको क्याम्पस सञ्चालक समितिको बैठकमा प्रस्तुत करिब १३ करोडको बजेटमा त्रिविबाट अनुदान ५ करोड मात्र रहेको जानकारी पाएपछि उनले अनुदान आयोगले निकासा गरेको बजेटमा त्रिविबाट कटौती भएको बताए ।
आयोग सदस्य अधिकारीका अनुसार त्रिवि अनुदान आयोगबाट केन्द्रीय प्रविधि क्याम्पसको लागि कुल ७ करोड, ८५ लाख, ११ हजार रुपैयाँ स्वीकृत गरिपठाएको हो । उनले स्वायत्ततामा गएको क्याम्पस भएकाले अनुदान रकममा कटौती गर्न नहुने भनी क्याम्पसले पहल गर्न आग्रह गर्दै भने ‘क्याम्पसले पहल गरेमा अनुदान आयोगको रकम प्राप्त हुन्छ ।’
बैठकमा क्याम्पस प्रमुख प्राध्यापक वसन्त राईले त्रिविले स्वायत्तता क्याम्पसको अनुदान कटौती गर्दा शैक्षिक कार्यक्रम सञ्चालन गर्न समेत कठिनाइ भएको बताए । केन्द्रीय क्याम्पस भएकाले सबै परीक्षाहरू यहीँ सञ्चालन हुँदा क्याम्पसका विद्यार्थीहरूको नियमित पठन पाठनका लागि कक्षा कोठाको समेत अभाव भएको उनको भनाई छ । क्याम्पसमा करिब १४०० विद्यार्थी छन् ।
स्वायत्ततामा जाँदा त्रिविसँग भएको सहमति अहिले त्रिविले अवज्ञा गर्दै आएको गुनासो क्याम्पसले पटक पटक गर्दै आएको छ । यसमा प्रमुख विषय अनुदान हो । त्रिविले पछिल्लो समय आर्थिक वर्ष २०८१/०८२ मा नियमित वार्षिक निकासा ७ करोड १४ लाख १२ हजार रुपैयाँ अनुदान दिएको थियो । त्यसको पछिल्लो वर्षहरूमा त्रिविले अनुदान रकम कटौती गर्दै आएको छ ।
क्याम्पसमा विद्यार्थी सङ्ख्या र अध्ययनका विषय बढ्दै गएको वर्षहरूमा अनुदान कटौतीले केन्द्रीय क्याम्पस न स्वायत्त न आङ्गिक क्याम्पसको अवस्थामा पुगेको सञ्चालक समिति अध्यक्ष प्राडा.धनबहादुर कार्कीको भनाई थियो ।
उनले भने ‘स्वायत्तता नबुझेकाहरू नीति निर्माण तहमा भएकाले क्याम्पसको विकाशमा समस्या भयो ।’
बैठकले क्याम्पसको शैक्षिक कार्यक्रम सुचारु गर्दै भौतिक विकासका कामहरू तीव्रता पूर्वक अघि बढाउँदै त्रिविद्वारा अनुदान आयोगको निकासामा कटौती गरिएको रकम प्राप्त गर्न उपकुलपति समक्ष डेलिगेसन गएर ताकेता गर्नु पर्ने सुझाव क्याम्पस प्रमुखलाई दिएको छ ।
त्रिवि अनुदान बाहेक आर्थिक वर्ष २०८३/८४ मा क्याम्पसको आन्तरिक खुद आय ४ करोड, ६८ लाख, ४६ हजार, ४१० रुपैयाँ हुने अनुमान गरिएको छ । आर्थिक वर्ष २०८२/०८३ मा उक्त आय ४ करोड ३७ लाख, ६३ हजार, ७१५ रुपैयाँ थियो । क्याम्पसको अनुमानित बजेटमा त्रिविसँग लिखित रूपमा अनुदान ७ करोड,७३ लाख, ६५ रुपैयाँ माग गरिएको उल्लेख छ । क्याम्पसको विभिन्न बैङ्कमा रहेको मुद्दती खाताको व्याज ५० लाख आम्दानी हुने अनुमान गरिएको छ ।