वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकामा जारी चौथो संस्करणको वडा स्तरीय “वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगिता” अन्तर्गत शनिवार सम्पन्न खेलमा वडा नं. १ विजयी भएको छ।
देविघाट स्थित वसन्त ऋतु माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न खेलमा वडा नं. १ ले वडा नं. ३ लाई एक गोलका विरुद्ध दुई गोलको अन्तरले पराजित गरेको हो। खेलमा पहिलो जितसँगै वडा नं.१ ले ३ अङ्क जोडेको छ । एक खेल खेल्न बाँकी रहँदै दोस्रो संस्करणको विजेता वडा नं १ प्रतियोगिताको उत्कृष्ट ४ मा स्थान सुरक्षित गरेको छ। त्यस्तै उक्त समूहबाट एक खेल खेल्नु अगाडि नै वडा नं ५ पनि नकआउट चरणमा प्रवेश गरेको छ । 
यता, लिग चरणका दुवै खेलमा पराजित भएको प्रथम संस्करणको विजेता वडा नं. ३ भने प्रतियोगिताबाट बाहिरिएको छ। यस अगाडि वडा नं ५ सँग वडा नं ३ पराजित भएको थियो । 
शनिवारको खेलमा उत्कृष्ट प्रदर्शन गरेका वडा नं. १  का विनोद राई ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद २ हजार ५ सय रुपैयाँसहित ट्रफी प्राप्त गरे।
प्रतियोगिताको पहिलो चरण नकआउट खेल सम्पन्न भइसकेपछि विजयी टोलीहरूबिच लिग फर्म्याटमा खेल सञ्चालन भइरहेको आयोजकले जनाएको छ। उत्कृष्ट ६ टोलीलाई दुई समूहमा विभाजन गरी लिग चरणका खेलहरू जारी छन्। समूह ‘ए’ मा वडा नं. २, वडा नं. ९ र वडा नं. १० रहेका छन् भने समूह ‘बी’ मा वडा नं. १, वडा नं. ३ र वडा नं. ५ रहेका छन्।
लिग चरणबाट उत्कृष्ट ४ टोली छनोट गरी पुनः नकआउट चरणका खेल सञ्चालन गरिने आयोजकले जनाएको छ।गत संस्करणको विजेताका रूपमा वडा नं. २ ले सिधै उत्कृष्ट ६ मा स्थान सुरक्षित गरेको थियो। साथै वडा नं. १, वडा नं. ३, वडा नं. ५, वडा नं. ९ र वडा नं. १० पनि लिग चरणमा प्रवेश गरेका थिए।
उत्कृष्ट ६ अन्तर्गत लिग चरणको खेल अन्तर्गत आइतबार वडा नं. २ र वडा नं. ९ बिच हुनेछ।“खेलकुद हाम्रो सान, खेलाडी उत्पादन गर्ने हाम्रो अभियान” भन्ने नारासहित सञ्चालन भइरहेको प्रतियोगिता वैशाख २५ गतेसम्म जारी रहनेछ। नगर खेलकुद विकास समितिको आयोजनामा २०७९ सालदेखि लिग-नकआउट ढाँचामा प्रतियोगिता सञ्चालन हुँदै आएको छ।
man-of-match 1