धरान : उभौली साकेलाको अवसरमा किरात राई यायोक्खा धरान उपमहानगर कमिटीले आज शनिवार भानुचोकमा वृहत साकेला उभौली प्रदर्शन सहित शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।

सिली नृत्यमा किरात समुदायको कृषि जीवनशैलीको विकास प्रतिबिम्बित हुने भएकाले सकेला सिली धार्मिक, सांस्कृतिक तथा सामाजिक आस्थासँग गाँसिएको मानिँदै आएको छ । सिलीहरूले बीउ छर्ने र बाली काट्ने,शिकार खेल्ने गतिविधिहरू अभिव्यक्ति हुन्छन् ।

प्रमुख अतिथि धरान उपमहानगरपालिका कार्यवाहक प्रमुख अइन्द्र विक्रम बेघाले साकेला पर्वको सांस्कृतिक र धार्मिक महत्त्व किरात जातिको समृद्धिसँग जोडिएको बताए । उनले भने ‘साकेला पर्व केवल नृत्य र उत्सव मात्र नभई किरात राई समुदायको सामाजिक, सांस्कृतिक र धार्मिक पहिचान हो ।’ धरान–१५ का वडा अध्यक्ष नरेश ईवरामले उभौलीले खेतीपाती सुरु हुने समयलाई बुझाउने र उँधौलीले बालीनाली उठाएर उपभोग गर्न अघि प्रकृतिका पूजा गर्ने धार्मिक संस्कार भएको बताए ।

यायोख्खाका जिल्ला अध्यक्ष राजेन्द्र राई प्रकृति पूजक किरात राई समुदाय लगायतले उभौली पर्व मनाउने सबै समुदायलाई उभौलीको शुभकामना दिए ।

यायोक्खा धरान उपमहानगर कमिटीका अध्यक्ष लीला राईले उभौलीको अवसरमा शुभकामना आदानप्रदान र नगर स्तरीय साकेला सिली प्रदर्शनी कार्यक्रम गरिएको बताईन ।  भानुचोैकमा १३ वटा प्रारम्भिक कार्यसमिति र वान्तवा खिमबाट गरी १४ वटा साकेला सिली प्रदर्शनी भएको थियो ।

sakela-1

sakela-12